
काठमाडौं – लघुवित्त कम्पनीहरुको नाफामा सुधार आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुको खुद नाफा समग्रमा ३४.४८ प्रतिशतले बढेर ५ अर्ब ४ करोड ५६ लाख ७३ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढ्दा लघुवित्त कम्पनीहरुको नाफामा सुधार आएको देखिन्छ ।
खुद ब्याज आम्दानी २१.४७ प्रतिशतले बढेर २२ अर्ब २० करोड ६८ लाख २७ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा औसतमा लघुवित्त कम्पनीहरुको खराब कर्जा ०.९५ प्रतिशत विन्दुले बढेर ७.१७ प्रतिशत पुगेको छ ।
ब्याज आम्दानीमा सुधार भएपनि खराब कर्जा अवस्थामा भने अझै सुधार देखिएको छैन । खुद ब्याज आम्दानीमा भएको वृद्धिले माइक्रोफाइनान्सहरुले कोर बिजनेसमा प्रगति गरेको अनुमान गर्न सकिन्छ । जुन सकारात्मक पक्ष हो । यद्यपि, यसअघि प्रवाह भएको कर्जाको साँवा–ब्याज असुलीमा अझै पनि समस्या नै रहेको प्रारम्भिक वित्तीय विवरणले संकेत गरेको छ ।
कर्जा लिनेहरुको तिर्ने क्षमतामा सुधार आएको छैन । यसकारण साँवा–ब्याज असुलीमा समस्या भएको छ । यस्तै, यसअघि लघुवित्तका ऋणीहरुले कर्जा तिर्नुपर्ने भन्दै चलाइएको आन्दोलनका कारण पनि केहीले क्षमता भए पनि तिर्न आनाकानी गरेको लघुवित्तकर्मीहरुले बताइरहेका छन् । यसको प्रभाव पनि अझै केहीहदसम्म देखिएको अनुमान छ ।
तर साँवा–ब्याज असुली भई खराब कर्जा घट्न सकेमा भने अधिकांश लघुवित्तहरुको वित्तीय अवस्था राम्रो देखिने अवस्था छ । यिनीहरुको लाभांश वितरण क्षमता पनि तुलनात्मकरुपमा राम्रो छ । यद्यपि, केन्द्रीय बैंकले लघुवित्तहरुलाई लाभांश वितरणमा पनि एक हिसाबले सीमा तोकेको अवस्था छ । १५ प्रतिशतभन्दा बढी वितरणका लागि थप विभिन्न मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।