
काठमाडाैं । वाणिज्य बैंकहरूले ९ महिनामा सवा ४१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा २० बैंकले १.३८ प्रतिशत अर्थात् ५६ करोड ३८ लाख रुपैयाँ बढाएर ४१ अर्ब २४ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको चैतसम्म यी बैंकको खुद नाफा ४० अर्ब ६७ करोड ८९ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ बैंकको नाफामा गिरावट आएको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । यस बैंकले २ हजार ३२ प्रतिशत नाफा बढाएर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्षको चैतमा नेपाल बैंकको नाफा १३ करोड ५ लाख रुपैयाँ मात्रै थियो ।
तर, नबिल बैंक भने सर्वाधिक नाफा गर्ने बैंक बनेको छ । नबिल बैंकले चैतसम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंकको ३८.६१ प्रतिशत बढेर ४ अर्ब ५४ करोड रुपैयाँ, ग्लोबल आइएमईको ३७.१२ प्रतिशत बढेर ४ अर्ब ५३ करोड रुपैयाँ, एभरेष्ट बैंकको ३२.५५ प्रतिशत बढेर ३ अर्ब ४५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको २८.८९ प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यस्तै, सानिमा बैंकको १४.७९ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ, एनएमबि बैंकको ५.८७ प्रतिशत बढेर २ अर्ब ३७ करोड रुपैयाँ, प्रभु बैंकको ३.५० प्रतिशत बढेर १ अर्ब ८७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३.३५ प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २.२४ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
समीक्षा अवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको नाफा घटेको छ । एनआईसी एशियाको ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा नाफा सीमित भएको हो ।
हिमालयन बैंकको ७४.३३ प्रतिशत घटेर ५० करोड ४८ हजार रुपैयाँ, कुमारी बैंकको ७२.८५ प्रतिशत घटेर २८ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४९.२८ प्रतिशत घटेर १ अर्ब २० करोड रुपैयाँ, प्राइम बैंकको २२.५५ प्रतिशत घटेर २ अर्ब २२ करोड रुपैयाँमा नाफा झरेको छ ।
यस्तै, सिटिजन्स बैंकको २०।५९ प्रतिशत घटेर ९६ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.१७ प्रतिशत घटेर २ अर्ब १७ करोड रुपैयाँ, कृषि विकास बैंकको १०.१६ प्रतिशत घटेर १ अर्ब ८४ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १.१९ प्रतिशत घटेर १ अर्ब ६६ करोड रुपैयाँ मात्रै नाफा गरेका छन् ।