
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ३९ करोड २१ लाख रुपैयाँका विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन । भन्सार विभागको तथ्यांक अनुसार १४ हजार तीन सय ७ थान विद्युतीय गाडी आयात भएका हुन । गाडी आयातबाट फागुनसम्म १० अर्ब ४७ करोड ७३ लाख ३८ हजार रुपैयाँ कर संकलन भएको छ ।
पछिल्लो आठ महिनाको आयात गत बर्षको तुलनामा बढि हो । गत बर्षको सोही अवधिमा नेपालमा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपैयाँको १३ हजार ७ थान विद्युतीय गाडी आयात भएको विभागको तथ्यांक छ ।
नेपालमा चीन र भारतका साथै अमेरिका, जर्मनी, कोरिया, इन्डोनेसियाबाट विद्युतीय गाडी आयात छन । आठ महिनासम्ममा सबैभन्दा बढी चीनबाट १३ अर्ब ७० करोड ३५ लाख ८४ हजार रुपैयाँको ११ हजार ५५० थान सवारी साधन नेपाल आएका छन ।
चालु आर्थिक वर्षको आठ महिनामा नेपालको आयात व्यापार पनि ११ दशमलव २ प्रतिशतले बढेको छ । आठ महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा डिजेल, कच्चा सोयाविन तेल, पेट्रोल, एलपीजी ग्याँस मुख्य रहेका छन ।
त्यस्तै पछिल्लो केही महिनादेखि भटमासको तेल निर्यात बढेको तथ्यांकले देखाएको छ । नेपालबाट ८ महिनामा १ खर्ब ५८ अर्बका सामान निर्यात भएकोमा भटमास तेल मात्रै ४७ अर्ब ९४ करोड रुपैयाँको छ । भारतले भटमास तेल आयातमा लाग्ने भन्सार घटाएपछि नेपालबाट निर्यात बढेको हो ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको निर्यात व्यापार गत बर्षको तुलनामा ५७ प्रतिशतले बढेको विभागले जनाएको छ मुलुकको व्यापार घाटा नौ खर्ब ८७ अर्ब ३९ करोड रूपैयाँ व्यापार घाटा छ । गत वर्षको सोही अवधिमा नौ खर्ब २९ अर्ब ६० करोड ब्यापार घाटा थियो । यो वर्ष गत आवको तुलनामा ६ दशमलब २२ प्रतिशतले व्यापार घाटा बढेको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ ।
आठ महिनामा भारतबाट ६ खर्ब ८८ अर्ब रूपैयाँ मूल्यका वस्तु आयात भएका छन् भने एक खर्ब २५ अर्ब रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ । त्यसैगरी चीनबाट दुई खर्ब १९ अर्ब बराबरको वस्तु आउँदा दुई अर्ब १२ करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ ।