२०८२ बैशाख ११ बिहीबार

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ मंगलबार पनि बढेको छ । मध्यपूर्वमा बढ्दो अस्थिरता र चीनले अर्थतन्त्र सुधारका लागि थप आर्थिक प्रोत्साहनको योजना बनाएपछि तेलको मूल्य मंगलबार १ प्रतिशत भन्दा धेरैले बढेर कारोबार भइरहेको छ । तेलको भाउ मार्च महिनाको सुरुवातयताकै सबैभन्दा उच्चतम विन्दुमा पुगेको रोयटर्सले लेखेको छ । सोमबार पनि तेलको भाउमा वृद्धि भएको थियो ।

मंगलबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट फ्युचर्स ८४ सेन्टले (१.२ प्रतिशत) बढेर प्रतिब्यारेल ७१.९१ डलरमा कारोबार भयो । यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट क्रुड फ्युचर्स पनि ८४ सेन्टले (१.२ प्रतिशत०) बढेर प्रतिब्यारेल ६८.८२ डलरमा कारोबार भइरहेको रोयटर्सले जनाएको छ ।

अमेरिकाले यमनका हुथी आतंककारीहरु माथि आक्रमण जारी राख्ने बताएपछि कच्चा तेलको भाउ बढेको रोयटर्सले लेखेको छ । इरान समर्थित हुथी समूहले समुद्री जाहजहरुमा आक्रमण बन्द नगरेसम्म उनीहरु माथिको सैन्य कारवाही जारी राख्ने अमेरिकाले बताएको छ । साथै, सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीले आक्रमण गरेमा इरानलाई जिम्मेवार बनाउने बताएका छन् ।

अर्कोतर्फ, इजरायलले गाजा क्षेत्रमा पुनः आक्रमण गरेपछि स्थिति थप तनावग्रस्त बन्ने र आपूर्ति श्रंखलामा असर पर्नसक्ने अनुमानपछि भाउ माथितिर गएको देखिन्छ । यता, विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता मुलुक चीनले अर्थतन्त्र सुधारका लागि थप योजनाहरु सार्वजनिक गरेपछि तेलको माग बढ्न सक्ने अनुमान गरिएको छ । जसका कारण पनि भाउ वृद्धिमा मद्दत पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर