
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तमा २० खर्ब ६७ अर्ब २ करोड रुपैयाँ रहेको सम्पत्ति चालु आर्थिक वर्षको पुस मसान्तसम्म बढेर २३ खर्ब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो ।
राष्ट्र बैंकले सो अवधिमा विदेशी ऋणपत्र, विदेशी बैंकमा राखिएको निक्षेप तथा सुनको प्रमाणपत्रमा लगानी बढाएको छ । गत असार मसान्तमा ११ खर्ब २७ अर्ब ७४ करोड रुपैयाँ रहेको विदेशी ऋणपत्रको लगानी चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, विदेशी बैंकको आवधिक निक्षेप ५ खर्ब ९८ अर्ब ५१ करोड रुपैयाँबाट बढेर ६ खर्ब ९१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको सुनको प्रमाणपत्रमा लगानी गत असार मसान्तमा ८३ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्म बढेर ९५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकको कुल विदेशी मुद्राको सम्पत्ति २२ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने स्वदेशी मुद्राको सम्पत्ति १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको ऋणपत्रमा २३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ ।
यसैबीच, नेपाल राष्ट्र बैंकको सञ्चित नाफा तथा जगेडा कोषमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत असार मसान्तमा रहेको सञ्चित नाफा तथा जगेडा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८ अर्ब ३५ करोड रुपैयाँले बढेर ६२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।