२०८१ माघ २९ मंगलवार

काठमाडौं – केही वर्षयता बैंकहरुले पुँजी कोषमा दबाब झेल्दै आएका छन् । अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि केही बैंकहरुको प्राथमिक पुँजी कोष अनुपात निकै कम छ । यसकारण ती बैंकहरुले थप कर्जा प्रवाह गर्न सकेका छैनन् । बैंकहरुलाई कर्जा असुलीमा समस्या बढ्दै गएको र कर्जा नोक्सानी व्यवस्थाले बैंकहरुको पुँजी कोषमा दबाब बढ्दै गएको हो ।

पुस मसान्तसम्म २० वाणिज्य बैंकहरुको औसत प्राथमिक पुँजी कोष ९.६८ प्रतिशत रहेको छ । २०८० को पुस मसान्तमा यी बैंकहरुको औसत प्राथमिक पुँजी कोष ९.७२ प्रतिशत थियो । औसतमा १ वर्षमा प्राथमिक पुँजी कोष ०.०४ प्रतिशतले घटेको छ । यो तथ्यांकले पनि प्राथमिक पुँजी कोषको दबाब बढ्दो क्रममा रहेको देखाउँछ ।

तथापि, पुष मसान्तमा कुमारी बैंकबाहेक सबै बैंकको प्राथमिक पुँजी कोष राष्ट्र बैंकले तोकेको सीमाभित्रै छ । कुमारी बैंकको प्राथमिक पुँजी कोष ७.२३ प्रतिशतमा झरेको छ । त्यस्तै, हिमालयन बैंकको ८.५९ प्रतिशत, प्रभु बैंकको ८.७० प्रतिशत र एनआइसी एसिया बैंकको ८.८६ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट पुँजी कोषको दबाबमा सहजीकरण गर्न विभिन्न खालको नियामकीय लचकता अपनाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् असल वर्गमा वर्गीकरण भएको कर्जामा १.१ प्रतिशतमात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने व्यवस्था गरेको छ । यसअघि १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने प्रवधान थियो ।

भाखा नाघेको कर्जाको बक्यौता ब्याज असुल भएर ६ महिनासम्म नियमित भएमात्रै असल वर्गमा वर्गीकरण गर्न पाइने व्यवस्था छ । सोही वर्गमा वर्गीकरण गर्दा कर्जा नोक्सानी व्यवस्था पनि त्यसै अनुसार गर्नुपर्ने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै केन्द्रीय भाखा नाघेको कर्जा असुल भएर नियमित हुनासाथ सूक्ष्म निगरानीमा राखेर ५ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने र ६ महिनासम्म नियमित भए असल वर्गमा वर्गीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

तथापि, केन्द्रीय बैंकले नीतिगत लचकता लिए पनि बैंकहरुको पुँजी कोषमा खासै सुधार आएको छैन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त लगानीयोग्य स्रोत छ । यता, प्राथमिक पुँजी कोषका कारण कर्जा लगानी गर्ने क्षमता भने संकुचित बन्दै गएको छ । राष्ट्र बैंकको नियम अनुसार बैंकहरुको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात कम्तिमा ८.५ प्रतिशत हुनुपर्छ ।

यस्तो अनुपात एक आर्थिक वर्षको कुनै पनि त्रैमासमा तोकिएको भन्दा कम भएमा बैंकहरुको लाभांश वितरणमा समेत रोक लगाएको छ । यस आधारमा गत वर्षको नाफाबाट कुमारी बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंकले लाभांश वितरण गर्न पाएका थिएनन् । यस त्रैमासमा पनि कुमारी बैंकको प्राथमिक पुँजी कोष पनि नियामकीय प्रावधानभन्दा कम छ । यता, पुँजी कोष अनुपात भने ११ प्रतिशत कायम गर्नुपर्छ ।

पुँजी कोष भनेको बैंकहरुले आफ्नो सञ्चालनका लागि राख्ने आर्थिक स्रोतको आधारभूत कोष हो । यसले बैंकको वित्तीय स्थायित्व, जोखिम सहन क्षमता, र कानुनअनुसार आवश्यक पर्ने न्यूनतम आर्थिक संरचनाको सुनिश्चितता दिने काम गर्छ । सामान्यतयाः पुँजी कोषलाई २ भागमा विभाजन गरिएको छ । एउटा प्राथमिक पुँजी र पुरक पुँजी हुन् ।

प्राथमिक पुँजी भनेको बैंकको मुख्य आधारभूत पुँजी हो । यसमा चुक्त पुँजी, जगेडा कोष र अविभाजित नाफा समावेश हुन्छ । प्राथमिक पुँजीले बैंकलाई तत्काल घाटा सहन र वित्तीय स्थायित्व कायम राख्न मद्दत गर्दछ । पुरक पुँजी भनेको सहायक पुँजी हो । जुन बैंकको दीर्घकालीन स्थायित्व र सञ्चालनका लागि प्रयोग हुन्छ । यसमा पुनः मूल्यांकन जगेडा कोष, ऋणपत्र र अन्य प्रावधानहरू समावेश हुन्छन् ।

पुँजी कोष अनुपात भनेको बैंक वा वित्तीय संस्थाले आफ्नो जोखिम व्यवस्थापन गर्न कति आर्थिक बलियो स्थिति (पुँजी) राखेको छ भन्ने कुरा मापन गर्ने सूचक हो । यसलाई बैंकले आफ्ना जोखिमयुक्त सम्पत्तिहरु (जस्तै, कर्जा, लगानी) कति पुँजीले समर्थन गरिरहेको छ भनेर देखाउने वित्तीय अनुपातको रुपमा लिइन्छ ।

पुँजी कोष अनुपातले बैंकको वित्तीय स्वास्थ्य र जोखिम सहने क्षमता कस्तो छ भन्ने देखाउँछ । यसले बैंकले आफ्नो दायित्व (जस्तै, निक्षेपकर्ता वा उधारकर्तालाई रकम फिर्ता) पूरा गर्न कति सक्षम छ भन्ने संकेत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय