२०८१ माघ २९ मंगलवार

काठमाडौं – सेयर बजारले बिहीबार २६ सयको मनोवैज्ञानिक रेखासमेत छाडेर २५ सयको लेबलमा झरेको छ । यस दिन नेप्से सूचक ३१.४३ विन्दुले घटेर २५९६.८२ अंकमा आएको छ । ४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।

निरन्तर बजार घट्दा आम लगानीकर्त भने त्रसित हुन थालेका छन् । सूचकसँगै कारोबार रकममा पनि थप गिरावट आएको छ । निरन्तरको घटाईले २७८० को लेबलबाट नेप्से सूचक २५ सयकै तहमा आइसकेको छ ।

२७८० को तह पार गर्न नसकेपछि बजारले केही सकारात्मक खबरको खोजिरहेको थियो । नीतिगतरुपमा सकारात्मक प्रभाव पार्न सक्ने तथा यसबाट आम लगानीकर्ताको मनोविज्ञान पनि बढाउने खबर बजारले खोजेको थियो । तर यसबीचमा त्यस्ता केही पनि सकारात्मक प्रभाव पार्ने विषयवस्तु आउन सकेन ।

केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामा केही पनि नीतिगत परिवर्तन गरेन । यस्तै, अर्थ मन्त्रालय तथा धितोपत्र बोर्डलगायतका निकायहरुबाट पनि सुधारका पहल भएन । यसकारण बजार झन् घटेको देखिन्छ । समग्रमा झर्दो क्रममा रहेको बजारलाई रोक्ने कुनै सकारात्मक पहल नहुँदा बजार झनझन् तल आएको हो ।

यसबीचमा उल्टै सरकार परिवर्तनका हल्ला चलाइए । यी कुराहरुले सर्वसाधारण लगानीकर्ता बिच्किएको देखिन्छ । तर अरु कुनै बजारलाई नकारात्मक प्रभाव पार्ने कुराहरु आएकाले बजार घटेको भने होइन । यसकारण यसले आफ्नो करेक्सन चक्र पूरा गरेपछि पुनः सकारात्मक गति लिने विश्वास गर्न सकिन्छ ।

सेयर बजारलाई असर गर्ने खासै ठूलो नकारात्मक कुराहरु नहुँदा पनि नेप्से एकोहोरो ढंगले घट्न थालेपछि आम लगानीकर्ता अन्योलमा परेका छन् । बजार किन यसरी घट्दैछ भनेर उनीहरुले सामाजिक सञ्जालहरुमा प्रश्न गरिरहेको देखिन्छ । विशेषगरी लाभांशको सिजन चलेको छ ।

कम्पनीहरुले धमाधम लाभांश घोषणा, बुक क्लोज र साधारण सभा मिति सार्वजनिक गरिरहेका छन् । यतिबेला सेयर होल्ड गर्न सक्नेले तत्कालै लाभांश पाउन सक्ने अवस्था छ । तर यसका बाबजुत पनि बजारले सकारात्मक बाटो तय गर्न सकेको छैन । आम लगानीकर्तामा धैर्यताको कमी र बजारको समग्र ट्रेन्डका बारेमा कतिपयलाई कम जानकारी हुनाले पनि आत्तिने प्रवृत्ति बढी भएको पाइन्छ ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र घट्दोक्रमको ब्याजदरले करेक्सनका बाबजुत पनि सेयर बजारमा राम्रै प्रभाव पार्ने विश्लेषणहरु भइरहेका छन् । यसर्थ, बजार बढ्दा लाभांशको साथमा पुँजीगत लाभ हात पार्ने सम्भावना पनि उत्तिकै छ ।

यसअघि बजार निकै छोटो समयमा २ हजारको लेबलबाट करिब ३ हजारसम्म पुगेकाले पनि अहिले लामो करेक्सनमा गएको देखिन्छ । यसअघिको बढोत्तरी निकै छोटो अवधिमा भएको थियो । २ महिनाभन्दा पनि कम अवधिमा करिब हजार अंक वृद्धि भएको थियो ।

यस्तै, बजारमा सरकार परिवर्तनलगायतका हल्ला चलाइएकाले पनि कतिपय लगानीकर्ता आत्तिएको पाइन्छ । यसैगरी, पुसमा लगानीकर्तालाई साँवा–ब्याज भुक्तानीका लागि नगद जोहो गर्नुपर्ने भएकाले पनि लगानीकर्ताको खरिद क्षमता कमजोर भएको अनुमान गर्न सकिन्छ । त्यसो त गत भदौदेखि नै बजारले खासै गति लिन सकेको छैन । यसआधारमा बजारको करेक्सन तथा साइडवेज चरण निकै लामो भएको देखिन्छ ।

पछिल्लो समयमा भने विशेषगरी २७८० खुड्किलो पार गर्न नसकेपछि नेप्सेको ओरालो यात्रा सुरु भएको हो । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले बजारलाई धेरै तल भने जान नदिने विश्लेषकहरु बताउँछन् । २७८० बाट नेप्से माथि जान नसकेपछि शक्ति सञ्चयका लागि पुनः करेक्सन भएको देखिन्छ । यसले आफ्नो घट्ने चक्रलाई पूरा गरेपछि पुनः सकारात्मक लय नै समाउने अनुमान गर्न सकिन्छ ।

तर बजार थप बलियो हुनका लागि पटकपटक करेक्सन पनि आवश्यक हुन्छ । करेक्सनबाट भाउ सस्तो हुने र सेयर खरिदका लागि इन्भेष्टर्स र ट्रेडरहरु दुवै तयार हुने वातावरण तय गरिदिन्छ । सस्तोमा सेयर खरिद गर्नेहरु बढ्दा माग पक्ष थप सबल हुन्छ । यसले पुनः क्रेताहरु उत्साहित भइ बजार माथि जान सहयोग पुग्ने गर्छ । यसकारण बजार थप माथि जान सकेन भने साइडवेज हुँदै सामान्यतयः करेक्सन हुने गर्छ । अहिले पनि त्यही भएको हो ।

यता, निरन्तर ब्याजदर घटे पनि कर्जा खासै प्रवाह भएको छैन । बजार निरन्तर घटेको बेला आम लगानीकर्ताको मनोबल उच्च पार्नका लागि धितोपत्र बोर्ड, अर्थ मन्त्रालयलगायतले केही न केही सुधारका पहल गर्न आवश्यक हुन्छ । तर अहिलेसम्म त्यस्तो केही पहल भएको पाइएको छैन ।
सामान्यतयः सबल वित्तीय सूचक रहेका र नियमित लाभांश दिने कम्पनीहरु छनोट गरी सकेसम्म लामो अवधि होल्ड गर्ने रणनीतिबाट लगानी गर्दा भविष्यमा लाभको सम्भावना अधिक रहन सक्छ । सेयर बजार उच्च जोखिमको क्षेत्र पनि हो । यसमा पर्याप्त, ज्ञान र लामो अनुभवको पनि आवश्यकता पर्छ ।

साथै, सरकार तथा नियामकहरुले लिने नीतिको उत्तिकै प्रभाव हुन्छ । मुलुकको अर्थतन्त्र, ब्याजदर, तरलता अवस्था लगायतले पनि अहम भूमिका खेलेको हुन्छ । यी कुराहरुमा आम लगानीकर्ता सचेत हुन आवश्यक देखिन्छ ।

यसैगरी, सूचीकृत कम्पनीहरुले पनि क्रमशः मुनाफा वृद्धि गर्दै जानुपर्ने हुन्छ । यसका साथै, कम्पनीहरुले वितरण गर्ने लाभांश क्षमता पनि बढ्नैपर्ने हुन्छ । यता, आम लगानीकर्ताले भने जहिले पनि सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्नुपर्छ । नाफा, रिजर्भ, इपीएस, नेटवर्थलगायतका प्रमुख वित्तीय सूचकहरु अध्ययन गर्नुपर्छ ।

यस दिन ३१० कम्पनीको ९८ लाख ३२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ६० लाखभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कर्णाली डेभलपमेन्ट बैंक र नेपाल फाइनान्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय