काठमाडौं – पछिल्लो समय पुँजी बजारमा करिब ५७ प्रतिशतमात्रै लगानीकर्ता सक्रिय रहेका छन् । कुल डिम्याट (हितग्राही) खाता खोल्नमध्ये ५६.८४ प्रतिशतमात्रै लगानीकर्ता सक्रिय रहेको सीडीएस एण्ड क्लियरिंङ लिमिटेड (सीडीएससी) को तथ्यांकले देखाएको छ । हालसम्म डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या भने ६४ लाख ५६ हजार ५८३ छ ।
यता, मेरो सेयरमा सक्रिय लगानीकर्ताको संख्या ३६ लाख ७० हजार ४१ जनामात्रै रहेका छन् । सामान्यतय: मेरो सेयरको सक्रिय प्रयोगकर्ता नै पुँजी बजारको प्राथमिक र दोस्रो बजारमा सक्रिय छन् भन्ने अनुमान लगाउन मिल्ने सीडीएसका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् । जसअनुसार पुँजी बजारमा निष्क्रिय लगानीकर्ताको हिस्सा भने ४३.१५ प्रतिशत रहेको छ । हालसम्म मेरो सेयर लिने लगानीकर्ताको संख्या ५५ लाख १६ हजार १२९ रहेको छ ।
प्राथमिक सेयर निष्कासन (आइपीओ) जारी हुने क्रममा सुस्तता आएसँगै मेरो सेयर प्रयोगकर्ताको सक्रिय संख्या पनि घट्दै गएको सीडीएसका प्रवक्ता न्यौपानेले बताए । आइपीओमा आवेदन दिनेको संख्या पनि घट्दै गएको छ । पछिल्लो समयको आइपीओ निष्कासनलाई आधार मान्दा करिब २६–२७ लाख लगानीकर्ताले मात्रै आइपीओमा आवेदन दिंदै आएका छन् ।
सक्रिय लगानीकर्ता नबढ्नुको अर्को कारण भनेको विगत लामो समयदेखि दोस्रो बजारमा सुस्तता छाउनु रहेको सेयर बजारका जानकारहरुले बताएका छन् । विगत केही समयदेखि सेयर बजारमा चमक आउन सकेको छैन । दोस्रो बजार बुलिस चक्रमा अगाडि बढ्दा लगानीकर्ताको संख्या र सक्रियता पनि बढ्छ । त्यस्तै, बजारमा भित्रिने नयाँ लगानीकर्ताको संख्या पनि उल्लेख्य मात्रामा बढ्ने गरेको इतिहास छ । यता, अहिले दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या करिब १ लाख मात्रै रहेको छ ।
त्यस्तै, पछिल्लो समय विदेशिने क्रम बढेकाले पनि सक्रिय लगानीकर्ताको संख्या घटेको न्यौपानेले बताए । विदेशिएका लगानीकर्ता खसै सक्रिय नभएको उनको भनाइ छ । पछिल्लो समय विदेशिने व्यक्तिहरुको संख्या ह्वातै बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार असोज महिनामा मात्रै ५३ हजारभन्दा धेरै मानिसहरु विदेसिएका छन् । जसमा ४७ हजार पुरुष र ६ हजार जना महिला छन् ।
सक्रिय लगानीकर्ता कम देखिनुको अर्को कारण भनेको एक व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्था हो । तर व्यवहारमा भने एकभन्दा बढी खाता खोले पनि प्रयोग भने धेरैको एउटैमात्र खाता हुने गर्छ । यसआधारमा पनि अरु खाता निष्कृयजस्तो देखिन जान्छ ।
एक जनाले एकभन्दा बढी खाता खोल्न पाउने भएपछि त्यसै पनि खाता निष्कृय हुनेक्रम बढ्छ । त्यसमाथि लामो समयदेखि सेयर बजार वियरिस ट्रेन्डमा छ । बजार वियरिस रहेका बेला धेरै लगानीकर्ता निष्कृय हुने गर्छन् ।
आइपीओ भर्नेहरुमा पनि जोश आउँदैन । त्यसमाथि पनि १० कित्ते नीतिले गर्दा अधिकांशलाई आइपीओ पनि पर्न छाडेको छ । यसकारण पनि धेरैले आइपीओ भर्न समेत चासो नदेखाएको पाइन्छ ।
यता, दोस्रो बजार बुलिस हुन सकेमा बजारमा नयाँ लगानीकर्ता थपिनेछन् । त्यतिमात्र होइन, पुराना र निष्कृय रहेका लगानीकर्ता पनि सक्रिय हुन थाल्छन् । फलस्वरुपः डिम्याट खाताहरु पनि सक्रिय हुन थाल्छ ।
खाता एक्टिभेट हुनेक्रम पनि बढ्ने अवस्था रहन्छ । खाता एक्टिभेट गरेपछि मात्र सेयर कारोबार गर्न पाइन्छ । बजार बढेपछि दोस्रो बजारबाट किनबेच गर्नेहरुको सक्रियता पनि बढ्न थाल्छ ।