२०८१ मंसिर २३ आईतवार

काठमाडौं : चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा १ खर्ब ५ अर्ब बढी कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेकोे तथ्यांकअनुसार असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब ५ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन् ।

साउन, भदौ र असोज गरेर ३ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले थप १५ अर्ब ७३ करोड १६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको देखिन्छ । गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म सेयर धितो कर्जा प्रवाह १७.५ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत वर्षको असोजसँगको तुलनामा १ वर्षको अवधिमा सेयर धितो कर्जा २४ अर्ब ८० करोड ७२ लाख रुपैयाँले बढेको छ । गत वर्षको असजोमसान्तसम्म यस्तो कर्जा ८१ अर्ब १ करोड ७६ लाख मात्र प्रवाह भएको थियो । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ६ अर्ब ७ करोड रुपैयाँले सेयर धितो कर्जा बढेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही लचिलो नीति लिएको थियो। जसका कारण सेयर कर्जा बढ्दै गएको देखिन्छ ।

राष्ट्र बैंकले चालु मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको थियो । साथै राष्ट्र बैंकले सेयर धितोको जोखिम भार घटाएपछि यस्तो प्रकृतिको कर्जा लिन लगानीकर्तालाई प्रोत्साहन मिलेको हो । यो समयमा सेयर बजार बढ्दो क्रममा रहेकाले पनि मार्जिन प्रकृतिको कर्जा बढेको हो। साथै अन्य क्षेत्रमा कर्जा प्रवाह हुन नसक्दा बैंकहरुले सेयर धितो कर्जालाई प्राथमिकतामा राख्दा पनि यस प्रकारको कर्जामा बढोत्तरी आएको हो ।

मार्जिन प्रकृतिको कर्जामा ठूलो ऋण लिने सबैभन्दा बढी बढेका छन् । केन्द्रीय बैंकको विवरण अनुसार १ करोड भन्दा बढी ऋण लिने २५.१ प्रतिशतले बढेका छन् । चालु आवको असोजसम्ममा १ करोड रुपैयाँभन्दा माथिको ऋण ६९ अर्ब ९७ करोड १ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ । पछिल्लो ३ महिनामा १ करोड माथिको यस्तो कर्जा १४ अर्ब ३ करोड ९९ लाख प्रवाह भएको देखिन्छ ।

त्यसपछि सबैभन्दा बढी ऋण लिनेमा ५० लाखदेखि १ करोडसम्म ऋण लिनेहरु छन्। यो आकारको सेयर धितो कर्जा पनि ९.४ प्रतिशतले बढेको छ । असोजसम्म यो रेन्जमा १ अर्ब १६ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । २५ लाख भन्दा कम र २५ लाखदेखि ५० लाख रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जा लिने ऋणीहरु सामान्य बढेका छन् । २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा लिने ३.१ प्रतिशत तथा २५ लाख भन्दा कम कर्जा लिनेहरु १.१ प्रतिशतले मात्र बढेका छन् ।

साना कर्जा लिनेहरु घट्ने तथा ठूला कर्जा लिनेहरु बढेकाले सेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी बढाएको अनुमान गर्न सकिन्छ । अहिले बैंकहरुको ठूलो रकम सेयर बजार आउने क्रम जारी रहेकाले बजारमा सुधार आउने अनुमान भइरहेको छ । यतिबेला बैंकहरुसँग लगानी योग्य रकम प्रशस्त छ भने बैंकहरुले ब्याजदर समेत निरन्तर घटाउदै लगेका छन् । अहिले सेयर धितो कर्जाको औसत ब्याजदर नै ९.६९ प्रतिशतमा झरेको छ ।

यसले लगानीकर्तालाई सेयर बजारमा प्रवेश गर्न थप उत्साहित गरिरहेको छ । यसले पनि मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाहरुको सेयर किन्ने प्रयोजनका लागि लगानीकर्ताले आफूसँग भएको सेयरलाई बैंक तथा वित्तीय संस्थामा धितो राखी लिने कर्जालाई मार्जिन प्रकृतिको कर्जा भनिन्छ । सेयरमा लगानी गर्नका लागि मार्जिन प्रकृतिको कर्जा लिन सकिन्छ भने यसबाहेक पनि लगानीकर्ताले आफूसँग भएको सेयर धितो राखेर अन्य शीर्षकमा समेत कर्जा लिन पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय