श्रीलंकाको कोलम्बोमा सम्पन्न साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२३, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्रतर्फ ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ। यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक २०२१ र २०२३ मा गरी दोस्रोपटक सम्मानित भएको हो।
साफाले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न विधाहरूमा प्रस्तुत गरेको थियो। दक्षिण एसियाली देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्यांकनको आधारमा छनोट गरेको हो।
विधाहरूमा वित्तीय सेवा क्षेत्रमध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको हो। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनका लागि साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो।
उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए। वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ। यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरूलाई थप ऊर्जा मिल्ने बैंकले जनाएको छ।
साथै, मुक्तिनाथ विकास बैंकले प्रवर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फन्ड’ आगामी मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत एकाइहरू बिक्रीमा ल्याउने भएको छ। यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ।