२०८१ माघ २७ आईतवार

काठमाडौं : आन्तरिक अथर्तन्त्रमा सुस्तता कायम नै रहेको छ । यसको असर बैंक तथा वित्तीय संस्थामा पनि पर्दै आएको छ । बैंकहरुबाट आक्रामकरुपमा कर्जा प्रवाह हुन सकेको छैन भने ऋण असुली पनि प्रभावकारी भएको छैन । फलस्वरुपः बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दो क्रममा रहेको छ । निष्क्रिय कर्जा घटाउनका लागि बैंक तथा वित्तीय संस्थाले विभिन्न रणनीति अपनाए पनि खासै सफल हुन सकेका छैनन् । फलस्वरुपः निष्क्रिय कर्जा झनै बढ्दै गइरहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको औसतमा खराब कर्जा ३.८६ प्रतिशत रहेको छ । साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस तथ्यांकलाई आधारमन्दा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा १ खर्ब ९९ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ ।

अघिल्लो वर्षको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात औसतमा ३.०२ प्रतिशत थियो । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यसले उक्त समय बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब ४६ अर्ब रुपैयाँ निष्क्रिर्य कर्जा रहेको देखाउँछ । उक्त तथ्यांकका आधारमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा ५२ अर्ब ६८ करोड रुपैयाँ बढी हो ।

यसअवधिमा वाणिज्य बैंकहरुको निष्क्रिर्य कर्जा ३.७६ प्रतिशत छ । अघिल्लो वर्षको साउनमा वाणिज्य बैंकहरुको औसतमा निष्क्रिय कर्जा २.९८ प्रतिशत थियो । १ वर्षमा निष्क्रिर्य कर्जा ०.७८ प्रतिशत बिन्दुले बढेको हो ।

यता, चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंकहरुको औसतमा निष्क्रिय कर्जा ३.६२ प्रतिशत छ । अघिल्लो वर्षको साउ मसान्तसम्ममा विकास बैंकहरुको औसतमा निष्क्रिय कर्जा २.४९ प्रतिशत थियो । विकास बैंकहरुको औसतमा निष्क्रिय कर्जा १.१३ प्रतिशत बिन्दुले बढेको हो ।

त्यस्तै, चालु आर्थिक वर्षको साउन मसान्तसम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको औसतमा निष्क्रिय कर्जा ९.८७ प्रतिशत छ । अघिल्लो साउनमा फाइनान्स कम्पनीहरुको औसतमा निष्क्रिय कर्जा ७.६० प्रतिशत थियो । १ वर्षमा फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा औसतमा २.२७ प्रतिशत बिन्दुले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताका कारण मुलुकका सबै किसिमका व्यापार, व्यवसाय र उद्यममा समस्या उत्पन्न भएको छ ।

पछिल्लो समय उत्पादनशील क्षेत्रमा कर्जाको माग निकै कम रहेको बैंकरहरुले बताएका छन् । तथ्यांक हेर्ने हो भने पनि उत्पादनशील तथा निर्माण क्षेत्रमा कर्जाको माग ज्यादै न्यून छ भने उपभोग्य कर्जाको मागको ग्राफ उकालो लाग्दो छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि उपभोग्य कर्जाको माग बढे पनि उत्पादनशील तथा निर्माण क्षेत्रमा कर्जाको माग नबढेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय