
काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे एक प्रतिवेदनले सन् २०२३ मा बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार तथा गतिविधि भएको उल्लेख गरेको छ। केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेकाे एक प्रतिवेदनले सो रकम बराबरको शंकास्पद कारोबार भएको देखाएको हो।
बैंकको प्रतिवेदन अनुसार वाणिज्य बैंकहरुबाट मात्र ३८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको छ। त्यसैगरी, विकास बैंकको ४७ करोड २२ लाख रुपैयाँ, ब्रोकर कम्पनीहरुकाे ४२ करोड ९६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएकाे छ।
यसैगरी वित्त कम्पनीबाट २६ करोड ५१ लाख रुपैयाँ , रेमिट्यान्स कम्पनीबाट ११ करोड १३ लाख रूपैयाँ, जीवन बीमा कम्पनीबाट ३ करोड ६१ लाख रुपैयाँ, पीएसपी/पीएसओबाट एक करोड १५ लाख रुपैयाँ, सहकारीबाट ४८ लाख रुपैयाँ, मर्चेन्ट बैंकबाट ४१ लाख रुपैयाँ र लघुवित्तबाट २२ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको छ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार २०२३ मा शंकास्पद कारोबार ५७.२० प्रतिशतले बढेको देखिएको छ। सन् २०२२ मा नेपालमा तीन हजार ९७९ वटा शंकास्पद कारोबार भएको थियो। २०२३ मा ६ हजार २५५ वटा यस्तो कारोबार भएको देखिएको छ। वाणिज्य बैंकमा मात्रै पाँच हजार २८२ वटा शंकास्पद कारोबार भएको छ।
विकास बैंकमा ३३०, भुक्तानी सेवा प्रदायक (वालेट) मा २११, रेमिट्यान्स कम्पनीमा १५६, वित्त कम्पनीमा ९९, शेयर ब्रोकरमा ६२, भुक्तानी प्रणाली सञ्चालकमा ४९ र जीवन बीमा कम्पनीमा २६ वटा शंकास्पद कारोबार भएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी लघुवित्तमा २४, राष्ट्र बैंकमा ११, निर्जीवन बीमा कम्पनीमा २, सहकारीमा २ र मर्चेन्ट बैंकमा एउटा शंकास्पद कारोबार भएको छ।