२०८१ माघ २९ मंगलवार

काठमाडौं – नेपाल राष्ट्र बैंकले अन्तर्देशीय भुक्तानी क्यूआर स्क्यानबाटै गर्न सकिने व्यवस्था गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० मा संशोधन गदै क्यूआरमार्फत् पैसा पठाउन पाउने व्यवस्था गरेको हो । नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने छन् ।

राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच पूर्णरुपमा सञ्चालनमा नआएसम्म सटही सुविधा, रेमिट्यान्स, विदेशमा गरिने भुक्तानीलगायत काम रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत् यी काम गर्न सकिने व्यवस्था गरेको हो । आरपीएस नेसनल पेमेन्ट स्विचअन्तर्गतको स्विच हो ।

केन्द्रीय बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत् गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कार्यरत भारतीय नागरिकले ती खातामा प्रतिदिन भारु १५ हजार र प्रति महिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकवापतको सटही सुविधा पाउँछन् ।

यसैगरी भारतीय रुपैयाँको सटही सुविधा भारत र भुटानमा क्यूआरलगायत विद्युतीय माध्यमबाट हुने मर्चेन्ट पेमेन्ट समेत उपलब्ध हुनेछ । यस्तो सटहीको सुविधा कार्डका लागि कायम सीमासम्म हुनेछ ।

राष्ट्र बैंकले परिपत्रमा भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खाताको क्यूआर कोडबाट पनि भारत र भुटानमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो। यसअगाडि कार्डबाट मात्रै भुक्तानी गर्न सकिने व्यवस्था थियो।

अन्तर्देशीय भुक्तानीलाई सहज बनाउँदै राष्ट्र बैंकले भारत र भुटानबाट भित्रिने रेमिट्यान्स समेत बैक खाता वा वालेटमा सोझै भुक्तानी गर्न सकिने उल्लेख गरेको हो । यस्तो अवस्थमा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले नेपाली सेटलमेन्ट बैंकमार्फत नेपाली रुपैयाँमा मात्र रकम प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय