२०८१ माघ २४ बिहीबार

काठमाडौँ । निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई हस्तकला क्षेत्रले करिव २४ अर्ब रुपैयाँको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान दिँदै आएको छ । तर, व्यापार घाटा न्यूनीकरण गर्न हस्तकला जस्ता निर्यातमूलक उद्योगको विकास, बिस्तार र प्रवर्द्धनमा सरकारको खासै ध्यान जान सकेको छैन ।

नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघले बर्सेनि हस्तकला व्यापार मेला आयोजन गर्ने गरेको छ । यस वर्ष पनि यो मेला आयोजना गरिएको छ । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पु¥याउने मेलाको लक्ष्य छ ।

हस्तकला मेलाको अवलोकनमा राष्ट्रपति रामचन्द्र पौडेल समेत पुगेका छन् । मेला अवलोकन गर्दै उनले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति नियम बनाउनुपर्नेमा जोड दिए । हस्तकला क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको बताउँदै उनले सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सिर्जना गर्न र उत्पादित वस्तुहरुको देश भित्र बजार बिस्तार गर्न आवश्यक रहेको बताए ।

मेलाले उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउनुका साथै नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्न मद्दत पुर्याउने विश्वास हस्तकला महासंघको छ । स्वदेशी साथै विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्न पनि मेलाको महत्त्वपूर्ण भूमिका रहने छ । मेलामा ३ वटा प्याभिलियन सहित करिब १ सय ३० वटा हस्तकलाका वस्तुका स्टलहरू रहेका छन् । व्यापार मेलामा पाकिस्तान र बांगलादेशबाट आएका व्यापारीहरूका समेत स्टल छ । मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरूको प्रदर्शनी गरिएको छ।

महासंघका अनुसार हाल नेपाली हस्तकलाका वस्तुहरु वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कूल बजार २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको महासंघको दावी छ । हस्तकलालाई थप बजारिकरण गर्न सरकार प्रतिबद्ध रहेको उद्योग मन्त्रीको भनाई छ ।

वैदेशिक व्यापारमा प्रमुख निर्यात वस्तु हस्तकला भएपनि मुलुकको प्राथमिकतामा यो व्यवसाय पर्न सकेको छैन । राज्यले हस्तकला व्यवसायलाई प्रवद्र्धन गर्ने उपयुक्त नीति नबनाउँदा वर्षौंदेखिका समस्या ज्युँका त्युँ छन् । सरकारले युवालाई हस्तकलाको सीप सिकाउने र मुलुकभित्रै व्यवसाय गर्न प्रेरित गर्ने हो भने युवाले रोजगारी मात्र पाउँदैनन्, मुलुकले अर्बौं रुपैयाँको वैदेशिक मुद्रा भित्¥याउन सक्छ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय