२०८१ चैत्र २ शनिबार

काठमाडौँ । पछिल्लो समय मुलुकको अर्थतन्त्रमै मन्दी छाइरहेकावेला विदेशी पर्यटक आगमनमा भने उत्साहजनक देखिएको छ । यसवर्षको अंग्रेजी महिना अक्टुबरमा मात्रै हवाइमार्ग हुँदै १ लाख १७ हजार ३ सय ६ जना विदेशी पर्यटक नेपाल भित्रिए ।

पर्यटकको यो संख्या इतिहासकै सबैभन्दा धेरै भएको पर्यटन विकास बोर्डले जनाएको छ । तर, नेपालमा भित्रिने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपनि पर्यटन प्रवद्र्धनकालागि सरकारले गरेको काम सन्तोषजनक नभएको निजी क्षेत्रको आरोप छ ।

सन् २०२३ को अक्टोबर महिनामै १ लाख १७ हजार ३ सय ६ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिए । नेपाल पर्यटन विकास बोर्डको यो तथ्यांकलाई आधार मान्ने हो भने एक महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या इतिहासकै सबैभन्दा धेरै हो । जुन कोभिडको अघिको तुलनामा यो पर्यटकको संख्या करिब १०३ प्रतिशतले बढेको देखिन्छ ।

यसले पर्यटन क्षेत्रमा उत्साह थपिँदै गएको छ । तर पछिल्लो समय नेपालमा भित्रिने पर्यटकहरुको संख्या बढ्दै गएपनि सरकारले पर्यटनका क्षेत्रमा गरेका कामहरु प्रभावकारी हुन नसकेको गुनासो पर्यटन व्यवसायीहरुको छ । अझै पनि सरकारले नेपालमा पर्यटक बढाउने ठोस कदम चाल्न नसकेको उनीहरुको आरोप छ ।

सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । अहिले १० महिनामा पर्यटकको संख्या ८ लाख नाघेको छ भने बाँकी २ महिना लक्षित पर्यटक भित्रिने विश्वास सरकारको छ । देशका विभिन्न ठाउँहरुमा पर्यटकलाई लक्षित गर्दै खोलिएका मापदण्ड विपरितका होटल, र्याफ्टिङ, ट्रेकिंग ट्राभल, पर्यटन गन्तव्यस्थलसम्म पुग्ने जोखिमपूर्ण सडक संजाल, हवाई टिकटमा प्रत्यक्ष कर लगाउने सरकारको नीति जस्ता कारण नेपालमा घुम्न आउने पर्यटकलाई झन्झटिलो लाग्ने गरेको पर्यटन व्यवसायीहरुको गुनासो छ ।

पर्यटन उद्योगलाई व्यवस्थित गर्नतर्फ सरकार लाग्नु पर्ने उनीहरुको जोड रहँदै आएको छ । पर्यटकीय सेवा तथा सुविधाहरूको विकास, विस्तार एवं विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन र पर्यटन विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यापर्यटनमा पनि जोड दिनुपर्ने ब्यवसायीहरुको सुझाव छ । नयाँ पर्यटकीय गन्तव्यस्थलहरूको एकीकृत र समन्वयात्मक रूपमा पूर्वाधारको विकास गर्दै आवशयक मात्रामा ऐन, कानुनहरु पर्यटन उद्योग अनुकुल बनाउन पनि उनीहरुले सुझाएका छन् ।

नेपालको आर्थिक समृद्धिको अधार भने पर्यटन तथा कृषि क्षेत्र हो । त्यसैले यो क्षेत्रका चुनौतिहरुलाई सम्बोधन गर्न जरुरी छ । यसका साथै निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोंचमा परिवर्तनको आवश्यकता पर्ने जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय