
काठमाडौं । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफूल, नर्सरी तथा जडिबुटीहरूको प्रदर्शनी मेला ‘तिहार फ्लोरा एक्स्पो-२०८०’ शनिबार सम्पन्न भएको छ । एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोबार भएको आयोजक नर्सरी व्यवसायी संघले जनाएको छ । कात्तिक १४ गतेबाट सुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी गराउनुभयो ।
६२ वटा स्टलमा विभिन्न जातका फलफूल बिरुवा तथा नर्सरीहरू प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफूल, नर्सरी, जडिबुटी, मल खाद, बिउबिजन, औजार गमलालगायत बिरुवको संरक्षणका लागि चाहिने आवश्यक सामग्रीको स्टल राखिएको थियो । एक्स्पोमा राखिएका स्टलहरूबाट ५० हजारदेखि १० लाख बढीसम्म व्यवसायीले फलफूल, बिरुवा तथा औजारहरूको व्यापार गरेको बताइएको छ । तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्याधिक भएकाले स्टलनै खाली हुनेगरी बिक्री भएको व्यवसायीले बताए ।
एकै ठाउँमा धेरै जातजातिका आउटडोर इण्डोर प्लान्टहरू छानीछानी पाइने भएकाले फूल बिरुवाका पारखीहरूको मेलामा भिड लागेको र आफूले उत्पादन गरेको फलफूल तथा बिरुवाको राम्रो बिक्री भएकोमा व्यवसायीहरू खुशी देखिए । मेलाको अन्तिम दिन शनिबार ग्राहकहरूको अत्याधिक भिड लागेकाले स्टलहरू नै खालि हुनेगरी फलफूल तथा बिरुवाको बिक्री भएको आयोजकले जनाएको छ ।
नर्सरी व्यवसायीसंघले व्यवसायीहरूको हकहितका लागि र ग्राहकको सुविधाका लागि भनेर पहिलोपटक गरेको तिहार फ्लोरा एक्स्पो सफल भएको बताएको छ । व्यवसायीहरूले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पूरा गर्न यस्ता मेलाको आयोजना गरिरहने एक्स्पोका संयोजक रविनकुमार गौतमले बताउनुभयो ।