
काठमाडौं । आठदिन अघि काठमाडौंको कुलेश्वरमा रहेको गुन्जेश्वरी ट्रेड लिंक प्रालिको गोदाममा ७० हजार किलो चिनी राखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो गोदाममा शिल गरेको भनेको छ । तर, प्रशासनले शिल गरेको भनेको यो गोदामबारे न सार्वजनिक नै गर्छ नत आवश्यक कारवाही नै गरेको छ ।
बजारमा चिनीको अभाव भइरहँदा यतिको मात्रामा चिनी गोदाममा किन ? प्रशासन र चिनी गोदाम सञ्चालकबीच साँठगाँठ मै त यतिका चिनी लुकाइएको होइन ? प्रश्न उठेको छ ।
सन्तोष खेतान सञ्चालक रहेको गुन्जेश्वरी ट्रेल लिंक प्रालिको काठमाडौंको कुलेश्वरस्थित गोदाम । यो गोदामका चार वटा कोठामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शिल गरेको हप्ता दिन भन्दा बढी भयो । बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्य अन्धाधुन्ध रुपमा बढाइएको अवस्थामा यो गोदाममा झण्डै ७० हजार किलो चिनी भेटिएको थियो ।
यहाँ चिनी मात्रै नभएर केही परिमाणमा दाल समेत रहेको थियो । बजारमा व्यवसायीले मिलेमतोमा चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्य बृद्धि गरेको आशंका भैरहेको समयमा बरामद चिनी आवश्यक कानूनी प्रक्रिया पुरा गरि बजार पठाउनु पर्नेमा सरकारी निकाय अहिले पनि अनुसन्धान पुरा नभएको जवाफ दिँदै बसिरहेका छन् । बरामद चिनीका बिषयमा अध्ययन प्रतिवेदन तयार भैसकेको र अध्ययनको काम भैरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको जवाफ छ ।
सरकारी निकायको जवाफलाई मान्ने हो भने सामान्य जरिवाना गरि छुट दिने अड्कलबाजी गर्न सकिन्छ । कालोबजारी भए नभएको एकिन गरि कारबाहीको दायरामा ल्याउनु पर्नेमा अहिलेसम्म ठोस प्रमाण नभेटिएको जिल्ला प्रशासन कार्यालय बताउँछ । त्यसो भए ७० हजार किलो चिनी किन थन्काइयो त रु
अहिले पनि माग भन्दा बढी बजारमा चिनी गइरहेको अवस्थामा अभावसंगै मूल्य बढाइएको बिषयमा गहिरो अनुसन्धान गर्नुपर्नेमा सरकार भने साना फुटकर बिक्रेतालाई कारबाही गरि पन्छिने गरेको छ ।
अहिले सरकारी संस्था खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैयाँमा चिनी बेचिरहेका छन् । त्यहि चिनी नीजि व्यापारीले भने प्रतिकिलो एक सय ३० रुपैयाँ देखि १ सय ४० रपैयाँको दरले बेचिरहेको अवस्था छ । चाडपर्वको मूखमा मूल्य घटाएर उपभोक्तालाई राहात दिनु पर्नेमा कालोबजारी र मूल्य बृद्धि गरि व्यापारी र सरकारले आहात दिइरहेको आम जनगुनासो छ ।