२०८१ चैत्र २ शनिबार

काठमाण्डौं । पछिल्लो एक महिनाको अवधिमा बैंकिङ प्रणालीमा करिब डेढ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक महिना चार दिनको अवधिमा बैंकिङ प्रणालीमा एक खर्ब ४३ अर्ब निक्षेप थपिएको हो । लगानीयोग्य पुँजी मापन गर्ने प्रमुख सूचक कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) ८२.४१ प्रतिशत पुगेको छ ।

भदौ अन्तिम सातातिर सरकारले स्थानीय तहको सञ्चित कोषको मौज्दातमध्ये ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएसँगै निक्षेपमा वृद्धि भएको हो । सरकारको निर्णय कार्यान्वयनमा आउनेबित्तिकै करिब ६० अर्ब प्रणालीमा थपिएको थियो । मसान्तमा अझ बढी पैसा आउने भएकाले निक्षेप संकलन बढ्दो क्रममा छ ।

गत बिहीबारसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । साउन मसान्तयता बैंकिङ प्रणालीमा एक खर्ब ४३ अर्ब निक्षेप थपिएको हो ।

केन्द्रीय बैंकका अनुसार हाल वाणिज्य बैंकहरूको मात्रै निक्षेप संकलन ५० खर्ब ७५ अर्ब पुगेको छ । जुन साउन मसान्तसम्ममा ४९ खर्ब ३९ अर्ब थियो । अर्थात्, यसबीच वाणिज्य बैंकहरूको मात्रै निक्षेप संकलनमा एक खर्ब ३६ अर्बले वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार १ भदौदेखि ४ असोजसम्ममा (एक महिना चार दिनमा) बैंक तथा वित्तीय संस्थाबाट ५४ अर्ब कर्जा प्रवाह भएको छ । साउनमा यस्तो कर्जा प्रवाह १६ अर्बले घटेको थियो । निक्षेप बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहसमेत बढाउन थालेका हुन् ।

केन्द्रीय बैंकका अनुसार गत साउन मसान्तसम्म ४८ खर्ब ६२ अर्ब रहेको कर्जा प्रवाह ४ असोजसम्म आइपुग्दा ४९ खर्ब १६ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको मात्रै कर्जा प्रवाह ४३ खर्ब ५० अर्ब पुगेको छ । साउन मसान्तसम्ममा यस्तो कर्जा प्रवाह ४२ खर्ब ९८ अर्ब पुगेको थियो । वाणिज्य बैंकहरूले यसबीच ५२ अर्बको कर्जा विस्तार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय