
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय आवेदन परेका महानगरका प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् ।
उनका अनुसार महानगरले आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको हो । “यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी शुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ”, प्रमुख राईले भने । उनका अनुसार केन्द्रमा एक महिनाको अवधिमा चार सय आवेदन परेका छन् । महानगरका ३२ वटै वडामा आवेदन आएको जानकारी प्राप्त भएको उनले बताइन् ।
महानगरले श्रम बैङ्क सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको जनाउँदै सङ्कलन भएका आवेदनबाट प्राथमिकिकरण र वर्गीकरणको काम भइरहेको प्रमुख राईले जानकारी दिइन् । ‘बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आबद्ध गराइएको हो,’ उनले भनिन्, ‘महानगरले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार फोन नं र श्रमिक कहाँ बस्नेलगायत विवरण उल्लेख गरिएको हुन्छ ।’
कार्यक्रमको मुख्य उद्देश्य सहज रुपमा श्रमिक उपलब्ध गराई सीप क्षमता भएका श्रमिकलाई काममा लागाई उचित पारीश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताइन् । उनका अनुसार चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ ।