
काठमाडौं । चाडपर्वको सुरुआतमै मूल्य बढाउने चहलखेल सुरु भएको छ । जस्को कारण बजारमा चिनीको खुद्रा मूल्य १२० रुपैयाँ पु¥याएपनि चिनी पाउनै कठिन भएको छ । तीज, दशैं, तिहार लगायत ठूला चाडपर्व नजिकिएकाले धेरै खपत हुने बेलमा बजारमा चिनीको अभाव सिर्जना गरी फेरी मूल्य बढाउन चलखेल सुरु गरेको आशंका गरिएको छ ।
चावहिलको दिपक स्टोर्सका सञ्चालक दिपक श्रेष्ठले थोक पसलबाट चिनी नै आउन छोडेको बताए । ‘अहिले गोदाममा चिनी सकिएको भन्दै होलसेल व्यापारीले चिनी दिन छाडेका छन्’ उनले भने, ‘होलसेलबाटै चिनी नआएपछि बजारमा अभाव देखिएको हो ।’
त्यस्तै, कालोपुलस्थित नारायण स्टोरका सञ्चालक हरि प्याकुरेलले आफूले ३÷४ दिन यता चिनी बेच्न नपाएको बताए । ‘गोदाममा भएको चिनी सकियो, नयाँ अर्डर गरेको चिनी आएको छैन । थोक बिक्रेताले चिनी सकिएको भन्दै पठाएका छैनन्,’ उनले भने । चिनी नआउँदा नियमित ग्राहकलाई समेत रित्तै फर्काउनु परेको उनको भनाइ छ ।
स्वदेशी उद्योगले उत्पादन गरेको चिनी सकिएको र विदेशबाट आयात नहुँदा बजारमा चिनीको अभाव भएको व्यापारीहरूले बताएका छन् । चाडपर्वको समयमा मूल्य बढाउन केही व्यापारीले चिनी लुकाउँदा बजारमा अभाव भएको उपभोक्ताहरूको भनाइ छ ।एकातिर बजारमा चिनी अभाव भएको छ भने अर्कोतर्फ मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।
एक महिना अघि प्रतिकिलो ९५ रुपैयाँ रहेको चिनीको खुद्रा मूल्य अहिले १२० रुपैयाँसम्म पुगेका छ ।सरकारसँग पनि चिनी मौज्दात कम रहेको छ । साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीले आफूसँग चिनीको मौज्दात कम रहेको बताएका छन् । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले हाल डेढ टन मात्र चिनी मौज्दात रहेको जानकारी दिए । साल्ट ट्रेडिङले चिनी आयात गर्न विगत ३ वर्षदेखि अनुमति मागे पनि अहिलेसम्म नपाएको उनको भनाइ छ ।
त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफूसँग चिनीको मौज्दात नभएको बताएको छ । विगतमा ल्याएको चिनी बेचिसकेको र थप चिनी ल्याउन ठेक्का लगाउन नसकिएको सूचना अधिकारी सर्मीला न्यौपाने सुवेदीले बताइन् ।
उनले वार्षिक कार्यक्रममा ५० हजार टन चिनी ल्याउने वार्षिक कार्यक्रम स्वीकृत भए पनि हालसम्म ठेक्का प्रकृया समेतअघि बढ्न नसकेको बताइन् । ‘दसै तिहारका लागि चिनी ल्याउन हालै वार्षिक कार्यक्रम स्वीकृत भएको छ, असार मसान्तसम्ममा यो स्वीकृत हुनु पर्ने हो तर, यो वर्ष अलि ढिला भएको छ,’ उनले भनिन् । देशभर वार्षिक २ लाख ६५ हजार मेट्रिक टनदेखि ३ लाख टन चिनी माग हुँदै आएको छ । सो मध्ये १ लाख मेट्रिक टन चिनी नेपाल उत्पादन हुने गरेको छ । बाँकी चिनी आयातमा निर्भर रहेको छ ।
यसैबीच, सरकारले २० हजार मेट्रिकटन चिनी आयात गर्न अनुमति दिएको छ । सरकारले चाडबाडलाई लक्षित गर्दै ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी आयात गर्न स्वीकृति दिइसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६० हजार मेट्रिक टन चिनी आयात गर्न प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले २० हजार टनको मात्र स्वीकृति दिएको हो । अर्थले साल्ट ट्रेडिङ कर्पोरेसनलाई १० हजार टन र खाद्य व्यवस्था कम्पनीलाई १० हजार टन आयात गर्न अनुमति दिएको छ ।