
काठमाडौं । सर्वसाधारणको सवा ४ करोड खातामा रहेको करिब १२ खर्ब ३३ अर्ब रुपैयाँ बराबर निक्षेपको बीमा (सुरक्षण) भएको पाइएको छ । व्यक्तिगत (प्राकृतिक व्यक्ति) खातामा रहेको निक्षेपको प्रतिखाता न्यूनतम ५ लाख रुपैयाँ बिमा गर्नुपर्ने प्रावधानअनुसार गत असारसम्म १२ खर्ब ३२ अर्ब ९५ करोड रुपैयाँ बिमा भएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको यो रकम करिब साढे ३ खर्ब रुपैयाँले बढी हो । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्था (निर्धन उत्थान र छिमेक) गरी ५६ वटा संस्थामा रहेको व्यक्तिगत खाताको रकम बीमा भएको हो । अघिल्लो आर्थिक वर्षमा ६२ वटा वित्तीय संस्थाको ३ करोड ६१ लाख ४३ हजारवटा खातामा रहेको ८ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेपको बीमा भएको थियो । गत वर्षदेखि सरकारले व्यक्तिगत खातामा रहेको ५ लाख रुपैयाँसम्म निक्षेपको बिमा हुने व्यवस्था निर्णय गरेको थियो । त्यसअघि यस्ता प्रतिखाता ३ लाख रुपैयाँको मात्र बिमा हुने व्यवस्था थियो ।
‘निक्षेप तथा कर्जा सुरक्षण कोषले ०८० असार मसान्तमा ५६ बैंक तथा वित्तीय संस्थामा ४ करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम १२ खर्ब ३२ अर्ब ९५ करोड निक्षेप सुरक्षण गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘०७९ असार मसान्तमा ३ करोड ६१ लाख ४३ हजार खातामा रहेको ८ खर्ब ७९ अर्ब २२ करोड निक्षेप सुरक्षण गरिएको थियो ।’
राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्था र २ वटा ‘घ’ वर्गका वित्तीय संस्थाले आफ्नो संस्थामा रहेको प्राकृतिक व्यक्तिको खातामा रहेको रकममध्ये प्रतिखाता ५ लाख रुपैयाँका दरले बीमा गर्नुपर्छ । आव ०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले निक्षेप बिमाको सीमा बढाएर प्रतिखाता २ लाखबाट ३ लाख रुपैयाँ पुर्याएको थियो । गत आर्थिक वर्षमा त्यो सीमा फेरि बढाएर ५ लाख पुर्याइएको हो । यो सुविधा व्यक्तिगत निक्षेप खातामा मात्र हो । संस्थाले जम्मा गर्ने निक्षेप (कम्पनीले जम्मा गरेको) खातामा बीमा हुँदैन ।
निक्षेप सुरक्षणका लागि बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग निक्षेप सुरक्षणबारे सम्झौता गर्नुपर्छ । यो एक प्रकारको निक्षेप बीमा हो । तर अन्तर्राष्ट्रिय प्रचलनअनुसार यस्तो बिमालाई निक्षेप सुरक्षण नै भनिने भएकाले नेपालले पनि त्यही अनुसरण गरेको हो ।
नेपालमा यसको आधिकारिक निकाय निक्षेप तथा कर्जा सुरक्षण कोष हो । ०३१ सालदेखि कर्जा सुरक्षण गर्दै आएको कोषले ०६७ देखि निक्षेपको पनि सुरक्षण गरिरहेको छ । कोषका अनुसार गत असारसम्म करिब सवा २ खर्ब रुपैयाँ बराबरको कर्जाको बीमा भएको छ । अघिल्लो आवको अन्त्यसम्म करिब २ खर्ब २४ करोड रुपैयाँ बराबर कर्जाको बीमा भएको थियो ।
‘निक्षेप तथा कर्जा सुरक्षण कोषले ०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको २ खर्ब १६ अर्ब ४४ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।