२०८१ चैत्र २ शनिबार

काठमाण्डौं । नेपालले गत आर्थिक वर्ष २०७९–८० मा १७१ मुलुकसँग वैदेशिक ब्यापार गरेकोमा १३४ देशसँग व्यापा घाटा ब्यहोर्दा ३४ देशसँग मात्रै नाफा गरेको छ । गत आवमा देशले १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँ बराबरको वैदेशिक ब्यापार गरेको छ ।

नेपालले गर्ने निर्यातको तुलनामा अत्याधिक आयात हुँदा अधिकांश देशहरुसँग देशले घाटा ब्यहोर्ने अवस्था आएको हो । गत आर्थिक वर्षमा नेपाललाई १४ खर्ब ५४ अर्ब ६६ करोड ३१ लाख ९० हजार रुपैयाँ ब्यापार घाटा भएको छ । कुल १ अर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको वस्तु निर्यात गरेको नेपालले अन्य देशहरुबाट १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको हो ।

नाफामा रहेका ३७ देशसँग पनि न्यून मात्रै वैदेशिक व्यापार गरेको छ । यी देशहरुसँग कुल वैदेशिक ब्यापारको २.३४ प्रतिशत अर्थात कुल ४१ अर्ब ४२ करोड ४९ लाख १४ हजार रुपैयाँको ब्यापार गरेको छ । गत आवमा ती देशसँग नेपालले २० अर्ब ९ करोड ७६ लाख ५४ हजार रुपैयाँको बराबरको आयात गर्दा २१ अर्ब ३२ करोड ७४ लाख ६० हजार रुपैयाँको निर्यात गरेको छ । यसबाट नेपालले कुल १ अर्ब २२ करोड ९६ लाख ६ हजार रुपैयाँनाफा गरेको छ ।

यी हुन् वैदेशिक ब्यापारमा नाफा हुने प्रमुख देशहरु

नेपालले डेनमार्क, संयुक्त राज्य अमेरिका, नर्वे, अल्जेरिया, कम्बोडिया, निगर, उरुग्वे, चार्ड, अफगानिस्थान, लाट्भिया, आइसल्याण्ड ,माल्दिभ्स, फिजी लगाएका देशसँग व्यापार नाफामा छ ।

नेपालले डेनमार्कसँग सबैभन्दा धेरै ५१ करोड २० लाख ६७ हजार रुपैयाँ नाफा गरेको छ । उक्त देश ४० करोड ६३ लाख ५० हजार आयात गर्दा ९१ करोड ८४ लाख १७ हजार रुपैयाँ बराबरको बस्तु निर्यात गरेको छ ।

वैदेशिक ब्यापारमा डेनमार्कपछि दोस्रो नाफा अमेरिकाबाट भएको छ । सो देशसँग नेपालले १४ करोड ६५ लाख २६ हजार रुपैयाँ नाफा गरेको हो । उक्त देशमा १९ अर्ब ५७ करोड १४ लाख २२ हजार रुपैयाँको वस्तु पठाउँदा नेपालले १९ अर्ब ४२ करोड ४८ लाख ९६ हजारको मात्र आयात गरेको छ ।

यता नर्वेसँग नेपालले ९ करोड ७२ लाख १७ हजार रुपैयाँको नाफा गरेको छ । नर्वेमा २० करोड ६१ लाख ५१ हजारको निर्यात गर्दा सो देशबाट नेपालले १० करोड ८९ लाख ३४ हजारको आयात गरेको छ । यस्तै अल्जेरियाबाट ४६ लाख ५ हजारको आयात गर्दा निर्यात ७ करोड ३० लाख ३४ हजारको निर्यात गरेको छ । अल्जेरियाबाट नेपालले ९ करोड ७२ लाख १७ हजार रुपैयाँ नाफा गरेको छ ।

कम्बोडियासँग नेपाललको वैदेशिक व्यापारमा ५ करोड ४४ लाख २२ हजार रुपैयाँ नाफा गरेको छ । कम्बोडियामा नेपालले ७ करोड ४९ लाख ३३ हजारको आयात गरेको छ भने १२ करोड ९३ लाख ५५ हजारको निर्यात गरेको छ ।

यस्तै निगरबाट ६५ लाख १ हजारको आयात गर्दा ५ करोड २० लाख ८३ हजारको निर्यात गरेको छ । उक्त देशसँग नेपालले ५ करोड १४ लाख ३३ हजार रुपैयाँ नाफा गरेको छ ।

यसैगरी गत आवमा उरुग्वेसँग ४ करोड १४ लाख, चार्डसँग ४ करोड १२ लाख, अफगानिस्थानसँग २ करोड ६० लाख, लाट्भिया २ करोड ३८ लाख, आइसल्याण्ड २ करोड १८ लाख, माल्दिभ्ससँग २ करोड ६ लाख, फिजीसँग २ करोड २ लाख रुपैयाँ ब्यापार नाफा गरेको छ ।

१३४ देशमा वैदेशिक ब्यापार घाटा, भारतसँग सर्वाधिक

वैदेशिक ब्यापारमा नेपालले अधिकांश देशहरुसँग घाटाको ब्यापार गर्दा भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अर्जेन्टिना, मलेसिया, युक्रेन, अष्ट्रेलिया, कतार, थाइल्याण्ड, ओमान, साउदी अरेबियान देशहरुसँग प्रमुख घाटा खाएको छ ।

नेपालले व्यापार घाटा ब्यहोरेका मुलुकमध्ये छिमेकी मुलुक भारतसँगै सबैभन्दा धेरै घाटा छ । एक वर्ष अवधिमा भारतसँगको व्यापार घाटा ९ खर्ब २१ अर्ब १६ करोड ११ लाख ४७ हजार रुपैयाँ बराबर छ । जुन कुल वैदेशिक ब्यापार घाटा (१४ खर्ब ५४ अर्ब) को ६३ प्रतिशतभन्दा बढी हुन आउँछ । यस आधारमा हेर्दा १७१ देशसँग ब्यापार गरेपनि कूल व्यापार घाटाको ६० प्रतिशतभन्दा बढी हिस्सा नै भारतले ओगट्दै आएको छ ।
भारतसँग नेपालले १० खर्ब २७ अर्ब ८४ करोड ७५ लाख ४१ हजार रुपैयाँको आयात गरेको छ भने १ खर्ब ६ अर्ब ६८ करोड ६४ लाख ४ हजार रुपैयाँको मात्र निर्यात गरेको छ ।

भारतपछि, चीनसँग २ खर्ब २० अर्ब ९५ करोड १ लाख ९५ हजार रुपैयाँ व्यापार घाटा छ । यो नेपालले ब्यहोर्दै आएको दोस्रो धेरै घाटा हो । नेपालले चीनसँग २ खर्ब २२ अर्ब ७१ करोड ५९ लाख ३३ हजारको आयात गर्दा १ अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपैयाँ बराबरको बस्तु निर्यात गरेको छ ।

यस्तै वैदेशिक व्यापारमा इन्डोनेसियासँग नेपाल ४१ अर्ब ५१ करोड १३ लाख ३१ हजार रुपैयाँ घाटामा छ । इन्डोनेसियाबाट ४१ अर्ब ८२ करोड ५५ लाख ४७ हजारको आयात गरेको छ भने ३१ करोड ४२ लाख १६ हजार रुपैयाँको मात्र निर्यात गरेको छ । यस्तै यूनाइटेड अरब इमिरेट्स्सँग ३१ अर्ब १३ करोड १ लाख ५८ हजार रुपैयाँ वैदेशिक घाटा व्यहोरेको छ । उक्त देशसँग नेपालले एक वर्षको अवधिमा ३२ अर्ब २१ करोडको आयात गर्दा १ अर्ब ७ करोड ९८ लाख रुपैयाँको निर्यात गरेको छ ।

यस्तै अर्जेन्टिनासँग नेपालले २४ अर्ब ८५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । उक्त देशसँग नेपालले २४ अर्ब ८६ करोड ४१ लाख ६० हजारको आयात गर्दा ७३ करोड ८८ लाख रुपैयाँको मात्र निर्यात गरेको छ । मलेसीयासँग नेपालले २२ अर्ब ४० करोड ६९ लाख ८३ हजारको आयात गर्दा ३१ करोड २४ लाख ६५ हजार रुपैयाँको मात्र निर्यात गरेको छ । मलेसीयासँग नेपालको ब्यापार घाटा २२ अर्ब ९ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

वैदेशिक ब्यापार धेरै हुने देशहरुबाट कुन कुन सामाग्री नेपाल भित्रिन्छन् ?

सबैभन्दा धेरै आयात हुने देश भारत हो । भारतबाट डिजेल, पट्रोल, एलपी ग्याँस, फलाम, मोटरसाइकल, फलामका अर्ध तयार उत्पादनहरु, सेरामिक्सबाट बनेका भाँडा, पेट्रोल गाडी, रोल्ड फलाम–स्टील, पेट्रोलियम बिटुमेन बार र रडहरू, मोटरसाइलका पार्टस्, धुलो सुर्ती, इलेक्ट्रिक कार, जीप–भ्यान, स्मार्टफोनहरू, हवाई इन्धन,बसका टायर, डिजेल इन्जिन भएका गाडीहरू, अन्य सौन्दर्य वा मेकअप सामाग्री, चामल, धान, पीना, फलाम र स्टीलका तार लयागतका सामाग्रीहरु उच्च आयात भएको छ ।

यस्तै वैदेशिक ब्यापारमा दोस्रो ठूला ओगट्ने चीनबाट सबैभन्दा धेरै रकमको स्मार्टफोन आउँदा जुत्ता, सिन्थेटिक फाइबरबाट बनेका कपडा, १०० कलिोवाटसम्मको विद्युतीय गाडी, एसी मेसिन, ल्यापटप (नोटबुक), टिसर्ट, स्याउ, खेलकुदका लागि प्रयोग हुने जुत्ता, इनटरनेटका लागि प्रयोग हुने राउटर, ट्राउजर, बिब र ब्रेस ओभरा एल, ज्याकेट, ब्लेजर, १ एमएमको छड, फ्लोट–ग्राउन्ड–ओलिस्ड गिलास, वाशिङ मेसिन, तार वा ताररहित नेटवर्क उपकरणमा सञ्चारका अन्य भागहरू, अप्टिकल फाइबर केबल लगायतका सामाग्रीहरु आयात हुने गरेका छन् ।

यस्तै इन्डोनेसियाबाट सुपाडी, कच्चा पाम तेल, कोइला, स्टील, रड, बोसो र तेल, काठ, पाम आयल, बिटुमिनस कोइला लगायत आयात हुने गरेको छ । युनाइटेड अरब इमिरेट्सबाट सुन, तामाको तारहरु, गुरुत्वोआकर्षण भएका पोलिथिन, लुब्रिकेटिङ्ग आयल, चाँदीको धुलो, स्मार्टफोनहरू, सौन्दर्य वा मेकअप सामाग्री लगायत वस्तुहरु आयात हुने गरेको छ ।

यस्तै अर्जेन्टिनाबाट कच्चा सोयाबिन तेल, सूर्यमुखी तेल, मकै, सुकेको सिमी, सोनदर्य सामाग्री, मेडिकल भेन्टिलेटर लगायत वस्तु आयात हुन्छ । यस्तै अष्ट्रेलियाबाट कोइला, सुकेको रातो दाल, सुकेको चना, अल्कोहल, फर्नेस आयल, स्मार्ट फोन, चकलेट लगायतका वस्तु आयात हुने गरेको छ ।

यता मलेसियाबाट रोल्ड स्टील, कच्चा पाम तेल, पेट्रोलियम बिटुमेन,कुरकुरे, कुर्मुरे, लेज, चीजबलहरू, फर्नेस आयल,बिस्कुट तामाका सामग्रीहरु आयात हुने गरेको छ । यस्तै कतारबाट अपरिष्कृत सुन, गुरुत्वोआकर्षण भएको प्लास्टिक, पेट्रोलियम बिटुमेन,स्मार्ट फोन, टेलिभिजन र आयात हुने गरेको छ ।

नेपालले अन्य देशमा कुन कुन वस्तु बेच्छ ?

यता सबैभन्दा धेरै निर्यात हुने वा ब्यापार नाफामा पहिलो नम्बरमा रहेको डेनमार्क हो । उक्त देशमा नेपालबाट उनीका कपडा वा राम्रो जनावरको कपालको सल, स्कार्फ, मफलर, म्यान्टिला, पर्दा, ज्याकेट तथा अन्य लत्ताकपडा, कार्पेट, ब्याग, कालो चिया, ग्रीन टी, अगरबत्ति, लगायतका वस्तु निर्यात हुने गरेको छ ।

दोस्रो ठूलो निर्यात हुने अमेरिकामा नेपालबाट गलैँचा, कार्पेट, कुकुर वा विरालोका लागि खाद्यान्न, टेबुल, भान्सा, शौचालय, कार्यालय, भित्री सजावटको लागि प्रयोग गरिने काँच–सिरेमिक्सका वस्तुहरू, महिलाहरूको ट्राउजर, ब्रीच, सल, स्कार्फ, मफलर, म्यान्टिला, बाद्यबाधनका सामाग्री, पुराना चित्रहरु, हातले बनाएको कागज र पेपरबोर्डहरु, सामानहरू प्याक गर्ने कटनबाट बनेका बोरा र झोलाहरू, ग्रीन टी, ब्लाक टी निर्यात हुने गरेको छ ।

यस्तै नर्वेमा उनीका कपडा वा राम्रो जनावरको कपालको सल, स्कार्फ, मफलर, म्यान्टिला, पुरुषहरूले लगाउने कटनका ज्याकेट र ब्लेजरहरू, महिला वा केटीहरूको ट्राउजर, ब्रीच, मूर्तिहरु निर्यात हुने गरेको छ । यस्तै अल्जेरियामा खोपहरू (भ्याक्सिन) र मानव औषधीजन्य वस्तु निर्यात हुने गरेका छन् ।

यस्तै उच्च व्यापार घाटा रहेको देश भारतमा पाम आयल, प्रशोधित भट्टमासको तेल, अलैँची, फलफुलको जुस, आल्मुनियम, जस्तापाता, पोलिस्टर धागो, जुट, टेक्सटाइल, चियापत्ति, कच्चा पाम आयल, पीना, झोलाहरु, अत्तरका लागि उपयोग हुने बोटबिरुवा, अम्रिसो, वा भागहरू लगायतका समाग्री धेरै निर्यात हुने गरेको छ ।

यस्तै नेपालबाट चीनमा स्टुफिड पास्ता, गलैँचा, कार्पेट, जनावरका रौँहरु, उनबाट निर्मित कपडा, फर्निचर, टेबल, भान्छा वा अन्य घरायसी सामानहरु, काठको फ्रेम, वाद्ययन्त्र (जाइलोफोन, सिम्बल), अत्तरका लागि उपयोग हुने बोटबिरुवा लगायत वस्तुको निर्यात हुने गरेको छ ।
यस्तै इन्डोनेसियामा छालाजन्य वस्तु, हवाईजहाज र हेलिकप्टरका भागहरु, गहुँ वा मेस्लिनको पीठो, वाद्ययन्त्र (जाइलोफोन, सिम्बल), मूर्तिहरु, कार्पेट, म्याट, उनीबाट बनेका कपडा लगायतका वस्तु निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय