
काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० मा ११ अर्ब ५० करोड रुपैयाँ बराबरकाे गलैंचा निर्यात हुँदा अमेरिकामा मात्रै आधाभन्दा धेरै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार अमेरिकामा मात्रै ७ अर्ब १८ करोड २५ लाख ६७ हजार रुपैयाँ बराबरकाे गलैंचा निर्यात भएकाे छ ।
गत वर्षभर ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर गलैंचा निर्यात भएको विभागले जनाएकाे छ । जसमध्ये अमेरिकामा २ लाख ४६ हजार ८४५ स्क्वायर मिटर गलैंचा निर्यात भएको छ । जर्मनमा ८८ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको ३३ हजार ७३४ स्क्वायर मिटर गलैंचा निर्यात भएको हो । युकेमा ७८ कराेड ७५ लाख ७६ हजार रुपैयाँ बराबरकाे २२ हजार ७०४ स्क्वायर मिटर गलैंचा निर्यात भएकाे छ । इटालीमा ६१ कराेड ४६ लाख ६२ हजार रुपैयाँ बराबरकाे २६ हजार ७६५ स्क्वायर मिटर निर्यात भएकाे छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ९ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको थियाे । आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २४ करोड ४० लाख रुपैयाँकाे निर्यात हुँदा आर्थिक वर्ष ०७६/०७७ मा ६ अर्ब १५ करोड ७७ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब ३६ करोड ८७ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको थियो ।