
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को ११ महिना अर्थात् जेठसम्म नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.६ प्रतिशतले घटेर १६ खर्ब २४ अर्ब ५७ करोडमा झरेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.८ प्रतिशत र ९१.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासीमा २२.७ प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब ५९ करोड तथा कुल पैठारीमा १६.० प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोडमा झरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को प्रथम ११ महिनामा निकासी-पैठारी व्यापारको अनुपात १ः९.५ रहेकोमा आर्थिक २०७९/०८० को सोही अवधिमा व्यापार अनुपात १ः१०.३ रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
सो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, फलाम तथा फलामका उत्पादनहरू, भटमास तेल, अलैंची, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, ऊनी फेल्ट उत्पादन, चिया, कुकुर बिरालाका आहारा, पश्मिना शल, कपडा, चाउचाउ, रोजिन एण्ड रेजिन एसिड, जडीबुटी, नेपाली हातेकागज, अदुवा र जुत्ताचप्पल प्रमुखरूपमा रहेका छन् । पामतेलको निर्यातमा ५०.० प्रतिशत घटेर १९ अर्ब ५४ करोडमा झरेको छ भने भटमास तेल निर्यात पनि ८१.८ प्रतिशतले घटेर आठ अर्ब ४८ करोडमा सीमित भएको छ ।
त्यस्तै, पोलिष्टर यार्न निर्यात ३.६ प्रतिशतले घटेर ११ अर्ब २४ करोडमा झरेको छ भने ऊनी गलैंचा निर्यात भने २०.३ प्रतिशतले बढेर १० अर्ब ३२ करोड पुगेको छ । फलाम तथा फलामजन्य उत्पादनको निर्यात २००.६ प्रतिशतले बढेर नौ अर्ब ९० करोड पुगेको छ भने तयारी पोशाक निर्यात १५.३ प्रतिशतले बढेर छ अर्ब ६८ करोड पुगेको छ । जुट तथा जुटका उत्पादन निर्यात भने ५.३ प्रतिशतले घटेर छ अर्ब ९८ करोडमा सीमित भएको छ ।
अर्को प्रमुख निर्यातजन्य वस्तु ऊनी फेल्ट ३.८ प्रतिशतले बढेर चार अर्ब ५९ करोड पुगेको छ भने सो अवधिमा जुसको निर्यात १२.९ प्रतिशतले बढेर छ अर्ब १० करोड पुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंची निर्यात पनि ६९.० प्रतिशतले बढेर सात अर्ब ७० करोड पुगेको छ भने कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चिया निर्यात १८.१ प्रतिशतले बढेर तीन अर्ब ६२ करोड पुगेको छ । समीक्षा अवधिमा पामको तेल, भटमासको तेल तथा सूर्यमुखी तेलमा ६१ अर्ब ७४ करोड बराबरको निर्यात मूल्यमा कमी आएकाले कुल निर्यात घटेको केन्द्रले जनाएको छ ।
चालु आर्थिक वर्षको प्रथम ११ महिनामा प्रशोधित खाद्य तेल अर्थात् भटमास तेल, पामतेल, सूर्यमुखी तेल निर्यात नेपालको कुल निर्यातमा १९.७९ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रूपमा कायमै रहेको छ । सो अवधिमा उल्लेखित वस्तुको कुल निर्यात २८ अर्ब ४२ करोड रहेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये पामतेल, भटमास तेल तथा सूर्यमुखी तेलको निर्यात हिस्सा नेपालको कुल निर्यातमा क्रमशः १३.६ प्रतिशत, ५.९ र ०.३ प्रतिशत रहेको छ । नेपालको निर्यात व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात समीक्षा अवधिमा ३२.२ प्रतिशतले घटेर ९९ अर्ब ९७ करोडमा झरेको छ ।
भारततर्फको निकासीमा निर्यात कमी आउनुमा भारततर्फ हुने पाम, भटमास तथा सूर्यमुखी तेलमा ६१ अर्ब ७४ करोड बराबरको कमी नै प्रमुख कारणका रूपमा रहेको बताइएको छ । नेपालको कुल निर्यातमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७८.५१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सो हिस्सा ६८.९३ प्रतिशतमा झरेको छ । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकमा अमेरिका, जर्मनी, युके, टर्की, क्यानडा, फ्रान्स, चीन, अष्ट्रेलिया, जापान, इटाली, नेदरल्याण्ड्स, डेनमार्क, र युएई प्रमुख रहेका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात ३.६ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ८८ करोडमा झरेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयात १२.२ प्रतिशतले घटेर एक खर्ब ५३ अर्ब ८६ करोड, मेसिनरी तथा पार्ट्स ३०.७ प्रतिशतले घटेर ९२ अर्ब ८४ करोडमा झरेको छ । सुन आयात भने १०.७ प्रतिशतले बढेर ४३ खर्ब ५४ करोड पुगेको छ ।
इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री आयात ६.९ प्रतिशतले घटेर ५८ खर्ब आठ करोडमा झरेको छ । यातायातका साधन र तिनका पार्टपुर्जा आयात पनि ४८.७ प्रतिशतले घटेर ४८ खर्ब सात करोडमा झरेको छ । कच्चा भटमास तेल आयातमा ३६.१ प्रतिशतले घटेर ३४ अर्ब तीन करोमा झरेको छ । खाद्यान्न आयात पनि २४.९ प्रतिशतले घटेर ५२ अर्ब ६५ करोडमा झरेको छ । समीक्षा अवधिमा औषधि आयातमा ३५.७ प्रतिशतले घटेर ४१ अर्ब २४ करोड र दूरसञ्चारका सामग्री आयात ३३.८ प्रतिशतले घटेर ३३ अर्ब ५३ करोडमा झरेको छ ।
तर, रासायनिक मल आयात १२३.० प्रतिशतले बढेर ३६ अर्ब २० करोड पुगेको छ । पाम तेल आयात ३२.७ प्रतिशतले घटेर २४ खर्ब ६२ करोडमा झरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को प्रथम ११ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र आयात घट्दा व्यापार घाटामा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोडमा झरेको केन्द्रले जनाएको छ ।