२०७९ चैत्र १२ आईतवार

लघुबीमा भन्ने बितिकै हामी न्यून आय वा बचत भएका विपन्न वर्गका घरपरिवार वा ब्यक्तिहरुका लागि विशेष रुपमा लक्षित गरि गरिने बीमा सेवा सम्झन्छौं । हुन पनि लघुबीमाको मुख्य विशेषता यहि हो । तर अहिलेको परिप्रेक्ष्यमा लघुबीमाप्रतिको धारणा परिवर्तन गर्न आवश्यक देखिन्छ । यसलाई विपन्न वर्गका लागि मात्र नभई समाजका सबै वर्गका निम्ति कुनै विशेष आवश्यकता परिपूर्तीका लागि गरिने लघुकालिन तथा सानो बीमांक वा न्यून बीमा शुल्कको बीमालेख वा कुनै एउटा यात्रा वा कार्यक्रम वा घटनाको लागि गरिने बीमाका रुपमा समेत हेर्नु उचित हुन्छ । यसलाई आर्थिक स्तर वा बजारको आकार वा भौगोलिक अवस्था वा व्यवसायिक अवसरको स्तरसँग मात्र दाँजेर हेर्नु हुँदैन ।

अहिले वार्षिक अवधिका वा बृहत जोखिम बहन हुने बीमालेखप्रति सर्वसाधारण बीमीतको चासो कम हुँदै गएको पाईन्छ । यसलाई मानिसहरुले कुनै विशेष जोखिमबाट आफ्नो सुरक्षाकालागि खोजिने क्षणिक आवश्यकता समाधानका लागि उपयुक्त विशेष बीमा सेवाको रुपमा हेर्न जरुरी छ जुन आवश्यकता अनुसार ससाना प्याकेजका रुपमा सहजै किन्न सकोस् । जस्तै कुनै जोखिमपूर्ण पैदल वा हवाई वा सवारी साधनमा गरिने यात्रा अवधिको लागि दुर्घटना बीमा, मौसमी रुपमा देखिने बीमारी जस्तै डेंगु वा हैजा वा कालाजारको उक्त मौसम अवधिका लागि मात्र औषधोपचार बीमा, मौसमी बालीका लागि बाली अवधिको लागि कुनै खास जोखिमका लागि मात्र गरिने बीमा, घरपालुवा पशुपन्छिको लागि जंगली जनावरले मार्ने विशेष जोखिमका लागि मात्र गरिने बीमा, सम्पती वा सरसामानको कुनै खास जोखिमबाट सुरक्षाका लागि गरिने बीमा, मृत्यूपश्चात गरिने काजकृयाको खर्चको लागि मात्र गरिने बीमा आदि ईत्यादि ।

लघुबीमाको प्रमुख गुण भनेको यो सर्वसाधारण व्यक्तिले सजिलै बुझ्ने सरल तथा धेरै शर्त तथा अपवादहरु नभएको न्यूनतम जटिल शब्दावलीमा लेखिएको हुनुपर्दछ । यसमा बढि भन्दा बढि मानिसको सहज पहूँच हुनु जरुरी छ । बीमीतहरुलाई बीमालेख किने पछि यस्को महत्व वा मूल्य होस, बीमालेख र बीमक प्रति ढुक्क भएर भरोसा गर्न सक्ने होस र नोक्सानी भएको समयमा दाबी भुक्तानी प्रकृया झन्झटरहित एवं छिटोछरिटो कुशल होस ।

लघु बीमकले बीमांकिमा श्रोत बढि खर्च नगरि बीमा दाबी भुक्तानीमा बढिभन्दा बढि श्रोत लगाई छिटोछरिटो रुपमा सेवा दिन आवश्यक हुन्छ । भविष्यमा बीमा संस्कार उन्मुख समाज निर्माणका लागि लघुबीमा एउटा राम्रो साधन हुन सक्छ किन भने यस्ले कहिल्यै बीमा नगरेका वा गर्न नखोजेका बीमाका पहूँच भन्दा टाढा रहेका धेरै ठूलो जनसमुदायलाई आफ्नो जीवनकालको पहिलो बीमालेख खरिद गर्न आकर्षित गरेर बीमा गर्ने बानी बसाल्न मद्दत गर्दछ र साथै यो सामाजिक सुरक्षाको एउटा बलियो आधार पनि हो ।

नेपालको परिप्रेक्ष्यमा लघुबीमा अझ बढि महत्वपूर्ण देखिन्छ । यहाँ बीमा गर्ने संस्कारको विकास भई सकेको छैन । स्वैच्छिक रुपमा बीमा प्रति अग्रसरता बिरलै पाईन्छ । बीमामा सहज पहूंच भएका शिक्षित एवं आर्थिक रुपमा सबल समुदायमा पनि बाध्यात्मक परिस्थितीमा मात्र बीमा गर्ने प्रचलन बढि छ जस्तै सवारीसाधन दर्ता गर्नकालागि सवारी साधनको तश्रोपक्ष बीमा, बैदेशिक भ्रमण भिसाको आवेदनकालागि यात्रा औषधोपचार बीमा, बैंकबाट ऋण लिनका लागि गरिने सम्पत्ति वा सामानको मार्गस्थ बीमा आदि । नेपालमा अझै धेरै ठूलो समुदायको बीमामा पहूँच पुगेको छैन ।

तसर्थ, बीमकले लक्षित समुदायको आवश्यकता समाधान हुने बीमालेखमा सहज रुपमा पहुँच दिन सक्ने हो भने यहाँ लघुबीमाको लागि प्रचुर मात्रामा बजार उपलब्ध छ । नेपालमा लघुबीमाको बजार भनेको ग्रामिण र आर्थिक रुपमा विपन्न समुदाय मात्र होईन, त्यस बाहेक सहरी क्षेत्रका शिक्षित एवं हुनेखाने युवा समुदाय पनि हो । ग्रामिण समुदायका लागि लघुबीमा सामाजिक सुरक्षाको एउटा भरपर्दो साधनका रुपमा उपयोग गर्न सकिन्छ । हाम्रो ग्रामिण समाजमा समुदायका कसैलाई भवितव्य परी कुनै हानी नोक्सान भएमा समाजको सामूहिक प्रयासमा आर्थिक सहयोग गर्ने प्रचलन रहेको पाईन्छ । यहि संस्कारलाई निरन्तरता दिन लघुबीमाले समुदायलाई सहयोग गर्दछ । समुदायका हरेक सदस्यले लघुबीमा गरेमा थोरै थोरै बीमा शुल्क भुक्तानी गरेर आफ्ना जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्न सकिन्छ र बीमीत जोखिमका कारण क्षती भएको अवस्थामा बीमा कम्पनीबाट क्षतीपूर्ति प्राप्त गरि हानी नोक्सानीबाट हुने आर्थिक भारबाट मुक्ति पाउन सकिन्छ ।

यसबाट नोक्सानीको अवस्थामा समुदायका सदस्यहरुलाई सहयोगका लागि आवश्यक आर्थिक भारबाट मुक्त गर्दछ र सुरक्षित समाज निर्माणमा मद्दत गर्दछ । साथै विपत्तिबाट हुने हानी नोक्सानी पश्चातको जीवन यापनलाई पनि सहज बनाउन मद्दत गर्दछ । हामीकहाँ विपत्तिका कारण भएको क्षतीको पुनर्निमाण गर्न नसकेर सरकारको सहयोगको लागि मुख ताकेर बसेका जनसमुदायको थुप्रै उदाहरणहरु छन । सायद समुदाय स्तरबाट नै बीमा गरेका भए उनीहरुको जीवन सहज भईसक्ने थियो । लघुबीमाले समुदायलाई लाभ हुने गरि परिवर्तन ल्याउन समाजमा सकारात्मक असर पु¥याउँछ ।

तुरुन्त मुनाफा कमाउनु भन्दा यस्ता सामाजिक सकारात्मक असरलाई लघुबीमाले आत्मसात गरेको हुनु पर्दछ । लघुबीमाबाट तत्काल मुनाफा गर्न नसकिएला तर दिर्घकालिन सोचका साथ निरन्तर रुपमा लागिरहेमा यसबाट पक्कै लाभ लिन सकिन्छ । बिनाझन्झट दाबी भुक्तानीले सकारात्मक सामाजिक असर पु¥याउँछ नै साथै बीमा सेवा खरिद गरेर समुदायका मानिसहरु पनि आत्मनिर्भर हुनेछन्, विपत्ति पर्दा समाज वा सरकारको मुख ताक्न पर्दैन । आफ्ना जोखिम बीमाले बहन गर्ने भए पछि उनीहरुको आत्मविश्वास पनि बढ्न गई उनीहरुको व्यवसाय तथा पेशामा प्रगति हुन जान्छ ।

कसैले बीमा सेवा खरिद गर्दैमा उसमाथि विपत्ति आईपरोस भन्ने सोच्दैनन् । यो त भवितव्यबाट केहि भएमा त्यसबाट हुने आर्थिक नोक्सानीका लागि मात्र हो । धेरै संख्यामा लघुबीमालेखहरु एकदम न्यून शुल्कमा बेचिन्छन् भने केहि बीमालेखमा मात्र दाबी पर्दछ । वास्तवमा भन्ने हो भने बीमा शुल्कबाट उठेको रकम बीमा गर्ने मध्येका केहि अभागी (जसको नोक्सानी भएका छन्) लाई भुक्तानी गरिन्छ । यस अर्थमा लघुबीमा खरिद पनि एक किसिमको समाजको लागि योगदान नै हो । त्यसैले बीमालेख खरिदकर्ताहरुलाई पनि उनीहरुले तिरेको बीमा शुल्क बापत उठेको रकमले समुदायमा विपत्ति पर्दा सहयोग पु¥याउँछ भन्ने महसुस दिलाउन आवश्यक छ । यस्तै सहरी क्षेत्रका युवाहरुका लागि पनि उनीहरुको आवश्यकता अनुकुल लघुबीमा सेवा प्रदान गर्न आवश्यक छ ।

उनीहरु सदैव झन्झटरहित प्रकृयाबाट वस्तु वा सेवा खरिद गर्न चाहिरहेका हुन्छन् र साथै दिर्घकालका लागि भार लिन चाहँदैनन् । उनीहरु आफ्ना तत्कालका आवश्यकताहरु पूरा गर्ने समाधानका उपाय चाहन्छन् । उनीहरु आफ्ना हातमा भएको स्मार्टफोनका माध्यमबाट आफूलाई चाहिने हरेक सेवा सुविधामा पहूँच पाउन लालायित हुन्छन् । तसर्थ उनीहरुको आवश्यकता अनुकुल तयार गरिएका लघुबीमाहरु डिजिटल माध्यमबाट बिना झन्झट सहजै उपलब्ध गराउन सकेमा उनीहरुको बीमामा पहूँच बढ्नेछ ।

लघुबीमाको बीमा शुल्क न्यून हुने भएकोले यस्को स्थायित्वका लागि ठूलो बजार ओगट्न जरुरी हुन्छ जसको लागि डिजिटल माध्यम वा स्थानिय सहकारी वा लघु वित्त संस्था वा स्थानिय उपभोक्ता वा आमा वा महिला समूहसँग सहकार्य गरि बीमा सेवा एवं दाबी भुक्तानी सेवा सहज रुपमा उपलब्ध गराउनु पर्ने हुन्छ । लघुबीमालेखहरु बजारमा ल्याउन अगाडि समुदायहरुको आवश्यकताको राम्ररी जाँचबुझ गर्नु पर्दछ । उनीहरुले किन बीमालेख किन्न हिच्किचाइरहेका छन् भन्ने बुझेर उनीहरुको आवश्यकता र अवस्था अनुकुल भरपर्दो सहज रुपमा किन्न सकिने र नोक्सानी हुँदा सजिलै दाबी पाउने बीमालेख बनाई उपलब्ध गराउन आवश्यक छ । निष्कर्षमा भन्ने हो भने लघुबीमाले ग्रामिण एवं सहरी क्षेत्रमा बीमा गर्ने संस्कारको विकास गरि भविष्यमा बीमा उन्मुख समाज निर्माण गर्न मद्दत गर्दछ, जसले देशको बलियो, सुरक्षित तथा दिगो अर्थतन्त्र निर्माणमा टेवा पु¥याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय