
काठमाडौं । काठमाडौं उपत्यकाको भित्री शहरमा खाली जग्गा भेटिन छाडेसँगै मूल्य समेत चर्को हुँदा काँठ क्षेत्रमा घरजग्गा किनबेच बढेको छ । आफ्नो आर्थिक हैसियतअनुसारको घर–घडेरी खरिद गर्न चाहनेहरु रिङरोडभन्दा बाहिर डाँडाका भित्तासम्म पुग्न थालेका छन् ।
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा चक्रपथ बाहिर धेरै घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । अहिले उपत्यकाका चारैतिरका भित्ता (निकुञ्ज र वनबाहेक) खोस्रिएर प्लटिङ गरेको देखिन्छ । तर, भित्तामै पुग्दा पनि आनाको १५/२० लाखभन्दा कम मूल्यमा जग्गा भेट्याउन मुस्किल भइसकेको छ ।
खासगरि, चक्रपथबाहिर थानकोट, दहचोक, किर्तिपुर, टोखा, साँखु, सालीनदी, नयाँ पाटी, तारे भिर, काभ्रेस्थली, जरसिंह पौवा, पालुवारी, भक्तपुरको दुवाकोट, दधिकोट, सिरुटार, डोलेश्वर, गुण्डु, तेलकोट, साँगा, ललितपुरको लामाटार, चापागाउँ, गोदामचौर, साना गाउँ, गोदावरी, खोकना, छम्पी, बडीखेल लगायत क्षेत्रमा धेरै घरजग्गा किनबेच भइरहेका छन् ।
काठमाडौंका तीन जिल्लामा नौ मालपोत कार्यालय सञ्चालनमा छन् । सात महिनाको अवधिमा नौवटा मालपोत कार्यालयबाट कुल २४ हजार १३८ घरजग्गा किनबेच भएका छन् ।
कुन मालपोतबाट कति किनबेच ?
नौवटा मालपोत कार्यालयमध्ये कहाँबाट कति किनबेच भए त ? भन्ने डाटा विश्लेषण गर्दा रिङरोड बाहिर बढी घरजग्गा किनबेच भइरहेको भेटियो । काठमाडौं जिल्लाभित्र रहेका ६ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै कलंकी मालपोत कार्यालयबाट घरजग्गा किनबेच भएको देखिन्छ । ७ महिनामा कलंकीबाट ४ हजार २४९ घरजग्गा किनबेच भएका छन् ।
कलंकी मालपोत कार्यालयले कलंकीसहित थानकोट, दहचोक, किर्तिपुर, दक्षिणकाली, फर्पिङलगायत क्षेत्रका बासिन्दालाई सेवा दिन्छ । ती क्षेत्रमा पछिल्लो समय घरजग्गा किनबेच ह्वात्तै बढेपछि मूल्य समेत ह्वात्तै बढेको छ । थानकोटको नागढुंगा पुग्दा समेत आनाको २० लाखभन्दा तल जग्गा भेट्याउन मुस्किल पर्ने त्यस क्षेत्रका घरजग्गा कारोबारी बताउँछन् ।
काठमाडौं जिल्लाकै कुरा गर्दा, साँखु मालपोतबाट ३ हजार २६८ घरजग्गा किनबेच भएर दोस्रो बनेको छ । साँखु, साली नदी क्षेत्रतिर घरजग्गा किनबेच बढ्दो छ । यस्तै, चावहिलबाट २ हजार ८२६ घरजग्गा किनबेच भएको देखिन्छ । महांकाल, आरुवारी, खरिवोट, फैंका, कपन लगायत क्षेत्रमा पनि घरजग्गा किनबेच बढेको बताइन्छ ।
काठमाडौंको मुख्य शहरी क्षेत्रलाई सेवा दिने डिल्ली बजार मालपोतबाट एक हजार १४८ घरजग्गा मात्रै किनबेच भएका छन् । यसको मतलब, शहरी क्षेत्रमा घरजग्गा किनबेच अत्यन्तै कम हुने गरेको छ ।
अहिले दरबारमार्ग, न्यूरोड, असन, इन्द्रचोक, कमलादी, बानेश्वर, घट्टेकुलो, नक्साल, रातोपुल, ठमेल, सोह्र खुट्टे, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार लगायतका मुख्य शहरी क्षेत्रमा घरजग्गाको मूल्य चर्को त छँदै छ, अब खाली जग्गा पनि भेट्याउन मुस्किल पर्न थालेको छ ।
लतिपुर र भक्तपुर जिल्लामा एक–एक मालपोत कार्यालय रहेका छन् । ललितपुरमा रहेको गोटीखेल मालपोतबाट अत्यन्तै कम कारोबार हुने हुँदा गणना नै नगर्दा हुन्छ । एक–एक मालपोत कार्यालय हुँदा उपत्यकाभित्र सबैभन्दा बढी घरजग्गा किनबेच गराउनेमा लगनखेल र भक्तपुर मालपोत्र क्रमशः पहिलो र दोस्रो हुने गरेका छन् ।
चालु आवको ७ महिनामा ५ हजार ५३८ घरजग्गा किनबेच गराई लगनखेल उपत्यकाकै पहिलो र ५ हजार १७९ घरजग्गा किनबेच गराइ भक्तपुर मालपोत दोस्रो बनेका छन् । गोटीखेल मालपोतबाट सबैभन्दा कम १०५ घरजग्गा किनबेच हुँदा मनमैजुबाट ८१० र टोखाबाट ९१५ घरजग्गा किनबेच भएको देखिन्छ ।