
अर्थतन्त्रमा आर्थिक कारोबारको विस्तारबारे जानकारीका लागि चलनचल्तीमा रहेको नगद, आधार मुद्रा, कर्जा प्रवाहजस्ता सूचकहरूको उपयोग गरिन्छ । यस लेखमा चलनचल्तीमा रहेको नगदसम्बन्धी केही आम जिज्ञासाबारे चर्चा गरिएको छ । चलनचल्तीमा रहेको नगद (Currency in Circulation-CIC) भन्नाले नेपाल राष्ट्र बैंकबाहिर रहेको नगदलाई बुझाउँछ । यस्तो नगदको ठूलो अंश बैंक तथा वित्तीय संस्थाबाहेकका अन्य संस्था, कम्पनी, व्यवसाय तथा सर्वसाधारणसँग रहेको हुन्छ भने बाँकी अंश बैंक तथा वित्तीय संस्थासँग रहेको हुन्छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागबाट जारी भएको नगद राष्ट्र बैंककै बैंकिङ विभागमा रहेको छ भने उक्त रकम चलनचल्तीमा रहेको नगदभित्र समावेश हुँदैन । उदाहरणका लागि २०७९ असार मसान्तमा मुद्रा व्यवस्थापन विभागबाट जारी खुद नगद रु. ६३४ अर्ब रहेको थियो जसमा बैंकिङ विभागसँग रु. २० अर्ब नगद रहेका कारण चलनचल्तीमा रहेको नगद रु. ६१४ अर्ब थियो । यसमध्ये रु. १०८ अर्ब बैंक तथा वित्तीय संस्थासँग र बाँकी रु. ५०६ अर्ब अन्य संघसंस्था तथा सर्वसाधारणसँग रहेको थियो ।
चलनचल्तीमा रहेको नगद र आर्थिक गतिविधिबीच बलियो सम्बन्ध हुन्छ ?
सामान्यतया चलनचल्तीमा रहेको नगद वृद्धि हुँदा आर्थिक गतिविधिको विस्तार भएको÷हुन सक्ने सङ्केतको रूपमा लिइन्छ । तथापि क्रयशक्तिको ठूलो अंश बैंक निक्षेपका रूपमा रहने र यस्तो मुद्रा बैंक तथा वित्तीय संस्थाले सिर्जना गर्ने तथा डिजिटल माध्यमबाट भुक्तानी हुन सक्ने भएकाले नगद वृद्धिका आधारमा मात्र आर्थिक गतिविधिबारे अनुमान गर्न गाह्रो हुन्छ । यसका लागि केन्द्रीय बैंक मुद्रा (Reserve Money) का साथसाथै बैंक तथा वित्तीय संस्थाले सिर्जना गर्ने मुद्रा (Bank Money/ Bank Credit) लाई समेत हेर्नुपर्ने हुन्छ । त्यसैगरी विद्युतीय भुक्तानीमा भएको वृद्धिसँगै कम नगद आवश्यक पर्ने भएकाले नगदको माग घट्दै जाने प्रवृत्ति देखापर्न सक्छ । चार्ट–१ मा देखाइएभैmँ पाकिस्तान, नेपाललगायतका विद्युतीय भुक्तानीको उपयोग कम रहेका मुलुकमा कुल मुद्राप्रदायमा चलनचल्तीमा रहेको नगदको हिस्सा १० प्रतिशतभन्दा माथि छ भने नर्वे, स्वीडेनलगायतका मुलुकमा त्यस्तो अनुपात तीन प्रतिशतभन्दा कम छ ।
त्यसैगरी यदि अर्थतन्त्रमा उच्च आयातमार्फत आर्थिक गतिविधि विस्तार भइरहेको छ भने आर्थिक वृद्धि ठिकै हुँदा पनि शोधनान्तर घाटाका कारण चलनचल्तीमा रहेको नगद भने घटेर जाने हुन्छ । हाल नेपालमा देखिएको मुख्य प्रवृत्ति यही हो । जस्तो गत आर्थिक वर्षमा चलनचल्तीमा रहेको नगद रु. ५७ अर्बले घट्दा समेत ५.८४ प्रतिशत आर्थिक वृद्धि भई कुल गार्हस्थ उत्पादन करिब रु .५७४ अर्बले वृद्धि भएको थियो ।
चल्तीमा रहेको नगद बृद्धि कसरी ?
चलनचल्तीमा रहेको नगद मुख्यतया दुई प्रकारले बृद्धि हुनसक्छ ः पहिलो, बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा भएको आफ्नो रिजर्भ खाताबाट नगद निकालेका कारण वृद्धि हुन्छ । यस्तो नगद निक्षेप भुक्तानीमा उपयोग भयो भने यसले आर्थिक गतिविधि बढाउने सम्भावना रहन्छ । अर्कोतिर सरकारले खर्च गरेका कारण, विप्रेषण लगायतबाट प्राप्त विदेशी विनिमय बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई बिक्री गरेका कारण, राष्ट्र बैंकले विभिन्न निकायलाई प्रदान गरेको कर्जामा बृद्धि भएका कारण र वैदेशिक लगानी तथा ऋण प्राप्त भएका कारणसमेत यस्तो नगदमा वृद्धि हुन जान्छ । उदाहरणका लागि कोभिडपश्चात् नेपाल राष्ट्र बैंकले पुनरकर्जा दिएको र आयातमा कमी आई शोधनान्तर बचतमा रहेका कारण चलनचल्तीमा रहेको नगदमा वृद्धि भएर २०७८ कात्तिकमा रु. ७२७ अर्बसम्म पुगेको थियो । जब कि गतवर्ष बाह्य क्षेत्रमा भएको घाटामा यस्तो नगद करिब रु. ५७ अर्बले घट्न गएको थियो । यसका अलावा केन्द्रीय बैंकले अनिवार्य नगद अनुपातलगायतका उपकरणमा परिवर्तन गरेअनुरूप चलनचल्तीमा रहेको नगदमा परिवर्तन हुन जान्छ ।
के राष्ट्र बैंकले भनेजति नगद चलनचल्तीमा रहेको हुन्छ ?
राष्ट्र बैंकबाट बाहिर गएको र भित्र फर्केको नगदका आधारमा चलनचल्तीमा रहेको नगद दैनिक रूपमा गणना गर्दछ । बाहिर गएको नगद यदि जलेर, बाढीले बगाएर, हराएर वा अन्य तरिकाले पूर्णरूपमा नष्ट भएर गयो भने त्यस्तो नगद राष्ट्र बैंकको आँकडामा चलनचल्तीमा रहेको नगदभित्रै समावेश हुन सक्छ । तसर्थ बजारमा उपलब्ध नगद बैंकले भनेभन्दा केही कम पनि हुन सक्छ ।
बजारबाट नगद हराउने तर्क के हो ?
कुनै पनि मुलुकमा चलनचल्तीमा रहेको नगद कुनकुन व्यक्तिको हातमा कति छ भन्ने कुरा केन्द्रीय बैंकलाई थाहा हुँदैन । यसलाई नगदको anonymity विशेषता भनिन्छ । तसर्थ नगद कृषि उत्पादनबाट जग्गा व्यापारमा जाँदा वा कुनै गैरकानुनी काममा मुलुकभित्रै उपयोग हुँदा चलनचल्तीमा रहेको नगदमा कमी आएको वा नगद हराएको भने भन्न सकिँदैन । तथापि त्यसरी अनौपचारिक क्षेत्रमा नगद गएर बस्दा वित्तीय प्रणालीमा नगद कम फर्किने भएकाले निक्षेप परिचालन तथा कर्जा प्रवाहमा भने प्रभाव पर्दछ । पछिल्लो समयमा मुख्यरूपमा आयातमार्फत विदेशी मुद्रा बाहिरिँदा नेपाली नगद राष्ट्र बैंकमा फर्किएकाले चलनचल्तीमा रहेको नगदमा कमी आएको हो । तसर्थ पछिल्लो समय बजारबाट नगद हराएको भनेको आयातमार्फत बाहिरिएर हो ।
के नगद बैंकमा धेरै रहनु राम्रो हो ?
चलनचल्तीमा रहेको नगदको ठूलो अंश सबैजसो मुलुकमा बैंकबाहिर नै रहने हो । बैंकले त केही प्रतिशत नगद ग्राहकलाई नगद भुक्तानी दिनका लागि मात्रै राख्ने गर्दछ । जस्तै नेपालमा समेत रु. १० लाखभन्दा बढीको चेक नगदमा भुक्तानी गर्न नपाइने भएकाले बैंकले आफ्नो ढुकुटीमा अर्बौं नगद राख्दैनन् । झन् RTGS, IPS जस्ता डिजिटल भुक्तानी माध्यमले त बैंकहरूको नगद मागमा ठूलो कमी ल्याएका छन् । उदाहरणका लागि २०७५ सालमा बैंक तथा वित्तीय संस्थाको निक्षेप रु. ३,१०० अर्ब रहेकोमा बैंकसँग भएको नगद रु. ८० अर्बको हाराहारीमा रहने गर्दथ्यो भने हाल निक्षेप करिब रु. ५,१०० अर्ब पुग्दासमेत बैंकहरूले राख्ने नगद रु. ११९ अर्ब जति मात्र रहेको छ । अन्य मुलुकमा पनि बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको २–३ प्रतिशत रकम नगदको रूपमा राख्ने गरेका छन् ।
यसो भन्दैमा नगद सर्वसाधारणको हातमा बसिराख्नु राम्रोचाहिँ होइन । नगद सर्वसाधारणबाट बैंक अनि बैंकबाट सर्वसाधारणको हातमा जाने क्रम चलिरहनुपर्दछ । यो दर जति तीव्र भयो अर्थतन्त्रमा मुद्रा प्रदाय त्यति नै बढी सिर्जना हुन्छ र थोरै नगदले पनि धेरै आर्थिक कारोबारहरू सम्पन्न गर्न सकिन्छ । मुलुकमा हाल करिब रु. ६५० अर्ब मात्रै नगद चलनचल्तीमा रहेकोमा बैंकको उपस्थितिले करिब रु. ५,५०० अर्बबराबरको मुद्रा प्रदाय सिर्जना भएको छ । अर्थतन्त्रको औपचारिकीकरण हँुदै जाँदा तथा बैंकिङ बानीको विकास हँुदैजाँदा यस्तो नगद बैंक तथा वित्तीय संस्थामा फर्किने दरमा वृद्धि भई तरलता, निक्षेप, कर्जा, मुद्राप्रदाय विस्तार तथा आर्थिक गतिविधिको विस्तारलाई थप सहयोग पु¥याउने हुन्छ ।
के दशैंमा साटिने पैसाले चलन–चल्तीमा रहेको नगदमा बृद्धि गर्छ ?
सामान्यतया दशैंमा साटिने पैसाले चलनचल्तीमा रहेको नगदमा बृद्धि गर्दैन । किनकि मुद्रा व्यवस्थापन विभागले सर्वसाधारणबाट जति नगद लिन्छ त्यति नै नयाँ नगद दिने गर्दछ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई नयाँ नोट साट्ने उद्देश्यका लागि निक्षेप भुक्तानी गर्न आफूसँग भएको नगद दिएमा वा ग्राहकसँग नगद लिई नयाँ नगद दिए भने पनि यसले केही फरक पार्दैन । तर नगद व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रहेको आफ्नो निक्षेप खाताबाट पैसा उपयोग गरी वा नेपाल राष्ट्र बैंकबाट सापटी लिई नयाँ नगद आफू लिए वा ग्राहकलाई दिए भनेचाहिँ यस्तो नगदमा वृद्धि हुन्छ ।
के डिमोनिटाइजेसनले चलन–चल्तीमा रहेको नगदमा बृद्धि गर्दछ ?
डिमोनिटाइजेसनले तत्कालका लागि चलनचल्तीमा रहेको नगदमा वृद्धि गर्न सक्दैन । गैरकानुनी रूपमा कमाएको पैसा वा कालोधनको केही अंश बैंकिङ प्रणालीमा नयाँ नोटसँग साटिनका लागि नफर्किने सम्भावना रहने भएकाले यसले तत्कालका लागि नगदमा झनै कमी ल्याउन सक्छ । यद्यपि मध्यम तथा दीर्घकालमा यसले गैरकानुनी काममा नगद कारोबार हतोत्साहित गरी कालोधन थुपार्न निरुत्साहित गर्ने तथा अनौपचारिक क्षेत्रमा नगद कारोबार निरुत्साहित गरी रकम बैंकिङ प्रणालीमा फर्काउने तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने भएकाले नगद, तरलता, निक्षेप परिचालन तथा कर्जा प्रवाह सहज बनाई आर्थिक गतिविधिलाई टेवा दिने हुन्छ ।
यसपालीको चुनावमा किन नगदमा बृद्धि भएन ?
सामान्यतया चुनावका बेला सरकारी खर्च वृद्धि हुने, उम्मेदवारले प्रचार प्रसार लगायतका कामको लागि खर्च गर्ने भएकाले चलनचल्तीमा भएको नगद बढ्छ भन्ने अपेक्षा हुन्छ । मङ्सिर ४ को चुनावभन्दा एक महिना अघिदेखिको तथ्याङ्क हेर्दा यस्तो नगद उल्टो रु. आठ अर्बले घट्न गएको देखिन्छ । यसका पछाडि तलका कारण मुख्य रूपमा जिम्मेवार हुन सक्छन् :
– प्रचार प्रसार सोसल मिडियामा पनि गरिएकाले त्यसको भुक्तानी डिजिटल माध्यमबाट भयो । जसले गर्दा नगदको आवश्यकता परेन । झन् डलर कार्डबाट खर्च गरी भएका प्रचारहरूको भुक्तानी डलरमा हुने भएकाले नेपाली नगदको आवश्यकता परेन ।
– मुलुकमा हाल मासिकरूपमा करिब चार करोडवटा कारोबार मार्फत करिब रु. ४,००० अर्ब डिजिटल रूपमा भुक्तानी हुने गरेको छ । निर्वाचनमा गरिएका धेरैजसो सरकारी खर्च तथा उम्मेदवारका खर्चहरू डिजिटल रूपमा भुक्तानी भएकाले आर्थिक गतिविधिको विस्तार भए तापनि नगदको मागमा खासै वृद्धि भएन ।
– आफूसँग सङ्ग्रह गरेर राखिएको नगद खर्च गर्दा वा सहकारी लगायतका संस्थासँग भएको नगद रकम झिकेर खर्च गर्दा आर्थिक गतिविधि विस्तार भए तापनि त्यसले चलनचल्तीमा रहेको नगदमा खासै फरक पारेन ।
निष्कर्ष
सामान्यतया चलनचल्तीमा रहने नगदलाई आर्थिक विस्तारसँग जोडेर हेर्ने गरिए तापनि यसको सम्बन्ध त्यति बलियो भने देखिँदैन । यसका पछाडि अर्थतन्त्रमा बढ्दै गएको बैंकिङ पहुँच, डिजिटल भुक्तानी, शोधनान्तर स्थिति तथा राष्ट्र बैंकको विभिन्न नीतिगत व्यवस्थाहरू रहेका छन् । डिजिटल भुक्तानीको बृद्धिसँगै यस्तो नगदको माग विस्तारै घट्दै जाने भएकाले आर्थिक गतिविधिको मापन सूचकका रूपमा यसको उपयोग कम विश्वसनीय हुने देखिन्छ ।