
काठमाडौं । ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले प्रस्तावित लाभांश तथा मर्जरको विशेष प्रस्ताव पारित गरेको छ ।
यससँगै बैंकका सेयरधनीले आर्थिक वर्षको २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर पाउने छन् । रकमको आधारमा सेयरधनीले करिब २ अर्ब ५२ करोड रुपैयाँ बराबको नगद लाभांश र ७१ करोड ३८ लाख रुपैयाँ बोनस सेयर पाउने छन् ।
२३ अर्ब ७९ करोड रहेको बैंकको चुक्ता पुँजी बोनस सेयरपश्चात २४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । सभामा ग्लोबल आइएमई बैंकले समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको हिसाब, नाफा, नोक्सान, वासलात, नगद विवरण लगायतका वित्तीय अनुसूचिहरु माथि छलफल गरी पारित गरेको छ ।
त्यस्तै, सभाले बाह्य लेखापरीक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने र ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने गाभिले तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
सभाले यी दुई बैंक गाभिएपछि नियमनकारी निकायबाट कुनै विषय थप तथा संशोधन गर्नुपर्ने भएमा सोही बमोजिम कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।
कार्तिक २९ गते बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन् ।