काठमाडौं। कोभिड-१९ कारण सन् २०२० मा पर्यटक आवागमन संख्या ८१ प्रतिशतले घटेको छ। आर्थिक सर्वेक्षणका अनुसार सन् २०१९ मा पर्यटक आवगमन संख्या ११ लाख ९७ हजार एक सय ९१ पुगेको थियो। सन् २०२० मा मुलुकमा भ्रमणमा आउने पर्यटकको संख्या दुई लाख ३० हजार ८५ जनामा सीमित भएको थियो। पर्यटक आवगमन संख्या घटेसँगै पर्यटन क्षेत्रबाट हुँदै आएको विदेशी मुद्रा आर्जनमा ७० प्रतिशतले गिरावट आएको सर्वेक्षणमा उल्लेख छ। सरकारले गरेको आर्थिक सर्वेक्षण अनुसार सन् २०२० अवधिमा आएका विदेशी पर्यटकबाट कुल २४ अर्ब ९५ करोड ५९ लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ। सन् २०१९ को तुलनामा यो मुद्रा आर्जनमा ७० प्रतिशतले गिरावट आएको हो। सन् २०१९ को तुलनामा नेपाल भ्रमणमा आउने पर्यटकको बसाइँ अवधि भने बढेको पाइएको छ। सन् २०२० अवधिमा आउने पर्यटकको औसत बसाइँ अवधि १५.१ दिन रहेको जनाइएको छ। दैनिक खर्च भने ३५.५ प्रतिशतले घटेर ६५ अमेरिकी डलर कायम भएको छ।
यो वर्ष भारत, थाइल्याण्ड, चीन, अमेरिका लगायत मुलुकबाट ५२ प्रतिशत पर्यटक भित्रिएका छन्। आन्तरिक र बाह्य पर्यटक गरी करिब दुई लाख ८० हजार पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। सन् २०१९ मा १५ लाख ५८ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। यो वर्ष कोभिड-१९ का कारण लुम्बिनी आउने पर्यटकको संख्या ७४ प्रतिशतले घटेको पाइएको छ। यो वर्ष हिमाल आरोहणमा आउने पर्वतारोहण दलको संख्या ९२ प्रतिशतले घटेको छ। यो वर्ष हिमाल आरोहणमा एक सय ५३ पर्वतारोहण दलको मात्र सहभागिता रहेको पाइएको छ। यसैगरी पर्वतारोहीको संख्या पनि ९५ प्रतिशतले घटेको छ। सन् २०१९ मा आठ हजार दुई सय ५४ जनाले हिमाल आरोहण गरेका थिए भने यो वर्ष हिमाल आरोहण गर्नेको संख्या चार सय ४७ जनामा सीमित भएको छ। हिमाल आरोहणमा आउने पर्यटकको आवगमन घटेसँगै रोयल्टीमा पनि ९८ प्रतिशतले गिरावट आएको छ। चालु आर्थिक वर्षमा अन्तर्राष्ट्रिय उडान अन्तर्गत यात्रु आवगमन संख्या ७३ प्रतिशतले घटेको छ। यो वर्ष अन्तर्राष्ट्रिय उडानमार्फत ११ लाख पाँच हजार आठ सय ५८ यात्रुले सेवा लिएका थिए। सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानमार्फत यात्रु आवगमन संख्या ४१ लाख ३८ हजार सात सय ६४ थियो।