२०८२ श्रावण २ शुक्रबार

काठमाडाैं । कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारणसभा सम्पन्न भएको छ । आइएमईले शुक्रवार संघीय राजधानी काठमाडौंमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ ।

साधारण सभामा संक्षिप्त मन्तब्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवं संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरूको सुझाव र सल्लाहकै वाबाजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे ।

अध्यक्ष ढकालले आम सेवाग्राहीवीच आईपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै आइएमईको आजसम्मको व्यवसायिक यात्रामा सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरे ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औँल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यवसायिक दायरा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।
साधारण सभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवं आइएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए ।

अब नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शीघ्र आईपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए ।

यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्नेछ ।

रेमिटेन्स समाधान प्रदायकहरूमध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आइएमईले विश्वभर विश्वस्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ । आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ ।

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो । सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिट्यान्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ । अन्तर्राष्ट्रियस्तरको रेमिट्यान्स सेवामा नेपाली लगानी र ब्राण्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ ।

तत्कालीन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुःखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पुर्‍याउनका लागि औपचारिक माध्यमको ठूलो अभाव थियो । औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई आज २२ वर्षमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर