
काठमाडौं । एनसेल आजियाटाले ई–सिम वितरण गर्ने कार्य सुरु गरेको छ । अब ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन सक्ने भएका छन ।
ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ ।
यो भौतिक रुपमा प्रयोग हुने सिम भन्दा सुरक्षित मानिन्छ र केही गरि आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।एनसेलका ग्राहकले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भईरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन् ।
यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि निशुल्क व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने÷नचल्ने थाहा पाउन एस्ट्रिक्सह्यास०६ह्यास डालय गर्न सक्छन् । यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ ।
ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ । उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।