
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपालको व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैया पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा १५ दशमलव ८८ प्रतिशत कम हो । अघिल्लो बर्षको कार्तिक मसान्तसम्म नेपालको व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैया रहेको भन्सार विभागले सार्वजनिक गरेको बैदेशिक व्यापारको तथ्यांक २०७९/८० मा उल्लेख छ ।
वैदेशिक व्यापारको हिस्सा पनि घटेको विभागले जनाएको छ । गत वर्षको कात्तिक मसान्तसम्म ७ खर्ब ३२ अर्ब २४ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार रहेकोमा यस वर्ष १९७९ प्रतिशतले घटेर ५ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँमा सिमित भएको छ ।
यो अवधिमा आयात र निर्यात व्यापार दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले वस्तु आयातमा गरेको कडाइसँगै तरलता अभावले ऋण उपलब्ध हुन छाडेपछि आयात घटेको हो । उच्च आयातले विदेशी मुद्राको सञ्चिति घटेर अर्थतन्त्र समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले विभिन्न वस्तुको आयातका लागि कडाई गरेको थियो ।
सोही कारण १८ दशमलव शुन्य ८ प्रतिशतले आयात घटेको आकलन गरिएको छ । यो अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाको आयात व्यापार भएको छ । अघिल्लो बर्षको सोही अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाको आयात व्यापार भएको थियो ।चार महिनाको अवधिमा निर्यात व्यापार ३३ दशमलव ३० प्रतिशतले घटेर ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँमा झरेको छ । व्यापार घाटामा आयातमा गरिको कडाईले सकारत्मक प्रभाव परेपनि राजस्वमा भने दवाव सिर्जन भएको छ ।
यो अवधिमा नेपालको छिमेकी मुलुक भारतसँग मात्रै २ खर्ब ८३ अर्ब ५८ करोड रुपैयाको व्यापार घाटा भएको छ । यो अवधिमा भारतबाट नेपालले ३ खर्ब २२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ३८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
चीनसँग नेपालको व्यापार घाटा ७४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । इन्डोनेसियासँग १७ अर्ब,अर्जेन्टिना १३ र युएईसँग १२ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको पनि भन्सार बिभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । १ सय ३२ भन बढि देशसंगको व्यापारमा नेपालको १८ देशसंँग मात्र व्यापार बचतमा रहेको छ भने अरु मुलुकसंगको व्यपार घाटामा रहेको पनि तथ्यांकले देखाएको छ ।