२०८१ माघ २९ मंगलवार

काठमाडौं। अघिल्लो आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नेपालमा २४ लाख थान बढी मोबाइल फोन आयात भएको छ। चालु आवको १० महिनामा मात्रै ३२ अर्ब रुपैयाँभन्दा बढीको साढे ६३ लाख थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। यो आयातबाट भन्सारले पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। अघिल्लो आव २०७६/७७ को सोही अवधिमा १४ अर्ब ६८ करोड रुपैयाँबराबरका साढे ३९ लाख थान मोबाइल फोन भित्रिएको थियो। यस्तै, चैतको तुलनामा वैशाखमा भने फोन आयात संख्या घटेको छ। वैशाखमा दुई अर्ब ४५ करोड १० लाख ७९ हजार रुपैयाँबराबरको पाँच लाख ५५ हजार ३४३ थान मोबाइल फोन आयात भएको छ। जसबाट सरकारले वैशाखमा ३८ करोड ८० लाख ५३ हजार रुपैयाँ भन्सार असुलेको विभागले जनाएको छ। अघिल्लो महिना चैतमा तीन अर्ब ३३ करोड ६३ लाख ४३ हजार रुपैयाँबराबरको आठ लाख ६ हजार चार सय ४० थान फोन आयात भएको थियो। स्थानीय प्रशासनले कोरोना संक्रमणको दोस्रो लहर तीब्र बनेपछि वैशाखमध्येबाट काठमाडौं उपत्यकासहित देशका मुख्य व्यापारिक सहरहरुमा निषेधाज्ञा लागू गरेको थियो।
जसका कारण मोबाइल फोनको आयात र बिक्री घट्नुका साथै व्यापारमा असर परेको व्यवसायीहरुले बताएका छन्। मोबाइल आयात घट्नुको एकमात्रै कारण हवाई उडान बन्द हुनु रहेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन एवम् आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले जानकारी दिए। ‘अहिले तत्काल प्लेन पनि बन्द, निषेधाज्ञाका कारण फोनको बिक्री पनि घटेको छ। फोन आयात घट्नुको कारण लकडाउन मात्रै हो, अरु कारण छैन,’ मल्होत्राले भने। अघिल्लो वर्षको लकडाउनमा पनि फोनको आयातको ग्राफ ओरालो लागेको बताउँदै उनले हवाई उडानको प्रतिबन्ध र निषेधाज्ञा हटेपछि फोनको व्यापार पुरानै लयमा फर्किने बताए। गत फागुनमा ओरालो फोनको आयात चैतमा भने उकालो लागेको थियो। विश्व बजारमा चिप्स अभावले फोन उत्पादन नै कम हुँदा चैत अघि आयात घटेको थियो। तर, उत्पादक कम्पनीहरुले चैतबाट बजारमा बढी फोन पठाइरहेकाले नेपालमा पनि आयात बढेको व्यवासायीहरुको भनाइ थियो। चैतमा फागुनको तुलनामा एक लाख ८१ हजार आठ सय ६१ थान बढी फोन भित्रिएको भन्सार विभागले जनाएको छ।
तीन वर्षमा मोबाइल फोन आयात दोब्बर पुगेको छ । इन्टरनेटको पहुँचले बजारमा स्मार्टफोनको माग बढेको व्यवसायी विवेक शर्मा बताउँछन् । ‘इन्टरनेटबाट पढ्न र विभिन्न मिटिङ चलाउन स्मार्टफोनको उपयोग हुने भएकाले बजारमा यसको माग कोभिडपछि बढेको छ,’ न्युरोडस्थित भर्जिन मोबाइल प्रालिका सञ्चालक उनी भन्छन्, ‘सीमा नाकामा समेत कडाइ गरिएको छ । त्यसैले सीमा क्षेत्रका ग्राहकले यहाँबाटै फोन खरिद गरिरहेका छन् । जसले यहाँको मोबाइल फोनको बजार बढाउन सघाएको छ ।’ सामाजिक सञ्जालको प्रयोगका लागि पनि स्मार्टफोन आवश्यक हुने भएकाले यसप्रति सबै आकर्षित भएको उनले सुनाए । सहरी क्षेत्रमा ११/१२ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्मका स्मार्टफोनको प्रयोग गर्ने बढिरहेको उनले बताए । ‘ग्रामीण भेगमा अझै पनि फोन गर्न र उठाउन मात्र मिल्ने बार फोनको प्रयोग गर्ने धेरै छन्,’ उनले भने, ‘बिक्री भने दुवै किसिमका फोनको बराबर नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय