
काठमाडौ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसी बोका र च्याङ्ग्राको मूल्य तोकेको छ। कम्पनीले बुधबारबाट बिक्री गर्नेगरी मूल्य तोकेको हो। अन्तिम समयमा कम्पनीले च्याङ्ग्रा पनि बिक्री गर्न लागेको कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले बताए। खनालका अनुसार जिउँदो खसीबोकाको मूल्य ६ सय ८० प्रतिकिलो तोकेको छ। त्यस्तै च्याङ्ग्राको मूल्य प्रति केजी १२ सय ६० रुपैयाँ राखिएको छ।
कम्पनीले यसअघि दसैंमा करिब २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा बेच्ने योजना बनाएको थियो। तर, अब ६ सय च्याङ्ग्रा र १८ सय खसीबोका मात्रै बेच्ने खनालले जानकारी दिए।
‘केही खसीबोका आउँदैछ। तर भोलीबाट नै हामी बिक्री थाल्छौं,’ उनले भने। यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ। अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गरेको थियो।