२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो महिना अर्थात् भदौमा दुई अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो ।

सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिकरूपमा छवटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक तीन सय ६४ मेगावाट बिक्री हुँदै आएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् बिक्री गरी सात अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले चार महिनामा विद्युत् बिक्रीबाट चार अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको प्राधिकरणले जनाएको छ ।

भदौमा मात्र विद्युत् बिक्रीबाट एक अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘चालु आवमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत् निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं । अब चाडबाड पनि सुरु हुन लागेकाले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब दुई सय मेगावाट थप विद्युत् निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौं, भारतीय पक्षबाट थप विद्युत् निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौं ।’

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत् आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री प्रस्ताव गरेको छ । प्राधिकरणले केही दिनअघि चार जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको जनाएको छ ।

यसअघि प्राधिकरणले चार जलविद्युत् आयोजनाबाट उत्पादित एक सय ११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप चार जलविद्युत् आयोजनाको प्रस्तावसँगै प्राधिकरणले आठ जलविद्युत् आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।

निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी-१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१ जलविद्युत्गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव गरिएको छ ।

यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर