२०८२ असार ३० सोमबार

काठमाडौं । रन अफ द रिभर जलविद्युत आयोजनामात्र बनाइरहेको निजी क्षेत्र अब अर्धजलाशय आयोजनामा लगानी गर्न तयार भएको छ। नेपाल विद्युत प्राधिकरणले आकर्षक खरिद दर दिएको र नदी प्रवाही आयोजनाको विद्युत खरिद–बिक्री रोकेका कारण निजी क्षेत्र अर्धजलाशय आयोजना बनाउन अघि बढेको हो।

यद्यपि प्राधिकरणले १ हजार ७५० मेगावाटका नदी प्रवाही जलविद्युत आयोजनाको बिजुली किन्ने तयारी गरेको छ । अर्धजलासय आयोजनाको बाँधलगायत अन्य संरचना ठूलो बनाउनुपर्ने हुँदा लागतका हिसावले आकर्षक हुँदैन । नदी प्रवाही आयोजनाको तुलनामा अर्धजलासय आयोजनाको लागत बढी हुन्छ ।

सानिमा ग्रुपको लगानीमा माथिल्लो तमोर बन्न लागेको हो । यस्तै त्रिवेणी, विशाल र ज्ञानेन्द्रलाल प्रधानको हाइड्रो सलुसन ग्रुपको संयुक्त लगानीमा कालिगण्डकी गर्ज अर्धजलाशय आयोजना निमार्ण हुन लागेका हुन्। दुवै आयोजनाको जडित क्षमता ४ सय ६१ मेगावाटबराबर छ।यी दुई अर्धजलाशय आयोजना बनाउन ८६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

सानिमा ग्रुपले बनाउन लागेको माथिल्लो तमोरको जडित क्षमता २ सय ८१ मेगावाट छ। यो आयोजना बनाउन ४५ अर्ब ९५ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान छ।

त्यसैगरी त्रिवेणी हाइड्रो सलुुसन र विशाल ग्रुपको संयुक्त लगानीमा बनाउन लागिएको कालिगण्डकी गर्जको जडित क्षमता १ सय ८० मेगावाट प्रस्ताव गरिएको छ। यसका लागि उनीहरूले ३९ अर्ब ७४ करोड रुपैयाँ लगानी गर्नेछन्।

दुई आयोजनाबाट कूल २ अर्ब ५४ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। जसअनुसार माथिल्लो तमोरबाट १ अर्ब ४७ करोड ९८ लाख र कालिगण्डकी गर्जबाट १ अर्ब ५ करोड ५५ लाख युनिट बिजुली उत्पादन हुनेछ।

दुवै आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) स्वीकृति दिन विद्युत नियमन आयोगले बिहीबार माथिल्लो तमोर र शुक्रबार कालिगण्डकी गर्जको सार्वजनिक सुनुवाइ थालेको छ। सुनुवाइ सकेपछि आयोगले पिपिए गर्न सहमति दिने छ। आयोगको सहमतिपछि विद्युत प्राधिकरण र विकासकर्ता कम्पनीबीच पिपिए हुने छ। त्यसपछि आयोजना बनाउन लगानी जुट्ने छ।

सानिमा ग्रुपअन्तर्गत तमोर सानिमाले २०७५ जेठ २७ मा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट २ सय ८५ मेगावाटसम्म विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको थियो।

अर्धजलाशय आयोजनाले सुक्खायाममा ६ घन्टासम्म पूर्णक्षमतामा बिजुली उत्पादन गर्ने छ। विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली बर्खामा प्रतियुनिट ४ रुपैयाँ र सुक्खायाममा ‘पिकिङ’ अवधिका लागि प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र पिकिङ नभएका बेला प्रतियुनिट ८ रुपैयाँ ४० पैसा निर्धाण गरेको नियमन आयोगले जनाएको छ।

त्यस्तै प्रस्तावित आयोजनाको पिपिए दरअनुसार वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म मूल्यवृद्धि हुने छ। आयोजना ताप्लेजुङ फक्तालुङ गाउँपालिका र फुङलिङ नगरपालिकामा पर्छ।

गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको सानिमा ग्रुपले जलविद्युत आयोजनामा लगानी बढाइरहेको छ। ग्रुपले विभिन्न सहायक कम्पनीमार्फत २८ मेगावाटको तल्लो लिखु, १४ मेगावाट मैलुङखोला, ७३ मेगावाट तमोर आयोजना निर्माण गरिरहेको छ। त्यसैगरी ६० मेगावाटको जुमखोला आयोजना पनि निर्माण तयारी छ।

त्यसैगरी व्यापारिक घराना त्रिवेणीले, विशाल र हाइड्रो सलुसनले कालिगण्डकी गर्ज हाइड्रोपावरमार्फत उक्त आयोजना निर्माण गर्न लागेको हो। आयोजनाबाट उत्पादन हुने बिजुली पिपिएका लागि कम्पनीले निवेदन दिएपछि आयोगले सहमति दिन लागेको छ। आयोगले भदौ ३१ शुक्रबार सार्वजनिक सुनुवाइ आयोजना गरेको छ।

यद्यपि, मन्त्रालयले त्रिवेणीलाई १ सय ६४ मेगावाटको मात्र लाइसेन्स दिएको छ। विभागले आयोजनाको जडित क्षमता बढाउन स्वीकृति दिने भएको छ।

विद्युत प्राधिकरणले अर्धजलाशय आयोजनालाई बेग्लै पिपिए दर निर्धारण गरेको छ। जसअनुसार बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ, पिकिङ अवधिमा १०.५५ रुपैयाँ र पिकिङ नहुने अवधिका लागि ८.४० रुपैयाँ पिपिए दर तोकेको छ। सोही दरमा विकासकर्ता कम्पनी र विद्युत प्राधिकरणबीच पिपिए हुनेछ।

आयोजनाले प्राधिकरणबाट वार्षिक तीन प्रतिशतका दरले आठपटक मूल्यवृद्धि गर्न पाउने छ। सुक्खायाममा आयोजनाको पिकिङ अवधि दैनिक ६ घन्टा हुनेछ। आयोजनाले सुक्खायाममा पनि दैनिक ६ घन्टा १ सय ८० मेगावाट बिजुली उत्पादन गर्ने छ।

जलप्रवाही आयोजनालाई अर्धजलाशय बनाउन विद्युत विकास विभागले सैद्धान्तिक सहमति दिएको छ। नदी प्रवाही आयोजनाको पिपिए रोकिएपछि अर्धजलाशयमा आयोजनाको डिजाइन गरिएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७५ असारमा भएको चीन भ्रमण क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजना प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ ह्वा वाटर कन्जरभेसन एन्ड हाइड्रोपावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

विभिन्न कारण देखाएर चिनियाँ कम्पनी नआउने भएपछि नेपाली लगानीमा आयोजना निर्माण हुन लागेको हो। मुस्ताङ थासाङ गाउँपालिका घाँसामा बाँध र म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युतगृह प्रस्ताव गरिएको आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हुनेछ।

विकासकर्ता कम्पनीको अध्यक्षमा सुवासचन्द्र संघई छन्। त्रिवेणी र विशाल ग्रुपको संयुक्त लगानीमा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना सञ्चालनमा छ।

त्यस्तै निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको ५० प्रतिशत स्वामित्व खरिद गर्न लागेको छ। पछिल्लो समय ग्रुप जलविद्युतमा लगानी विस्तार गर्न लागेको छ। ग्रुपले सिमेन्ट, खाद्यतेल लगायत उद्योग–व्यवसाय सञ्चालन गर्दै आएको छ। विद्युत प्राधिकरणले १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो पनि अर्धजलासय आयोजना हो ।

सरकारकोसमेत लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी पनि अर्धजलासय आयोजना हो । माथिल्लो तामाकोसीमा सुक्खायाममा पनि दिनभरी पानी जम्मा गरेर बढी बिजुली खपत हुने समय साँझमा पनि ५ घण्टा ४५६ मेगावाट बिजुली उत्पादन हुन्छ ।

यस्तै विद्युत प्राधिकरणले बनाएको १४४ मेगावाटको कालिगण्डकी ए, ७० मेगावाटको मध्यमस्र्याङदी र ६९ मेगावाटको मस्र्याङदी जलविद्युत आयोजना अर्धजलासय आयोजना हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय