२०७९ चैत्र १२ आईतवार

दीर्घकालीन प्रकृतिका वित्तीय औजारको विनिमय वा कारोबार गरी बचतकर्तासँग रहेको पुँजीलाई माग पक्षतिर प्रवाह गर्ने बजारलाई पुँजी बजारको रुपमा चित्रित गरिन्छ । अझ सरल भाषामा भन्नु पर्दा दीर्घकालीन वित्तीय साधनको रुपमा रहेको धितोपत्रहरु (सेयर, वण्ड/डिवेञ्चर, योजना, डेरिभेटिभस् इत्यादी) को कारोबार गरी समाजमा छरिएर रहेको लगानीयोग्य बचत पुँजीलाई एकत्रित गरी आवश्यक परेको क्षेत्रमा प्रवाह गर्दै वस्तु तथा सेवा उत्पादन तथा वितरण गर्न सहयोग पुराउने वित्तीय प्रणालीको एक महत्वपूर्ण अंकको रुपमा पुँजी बजार रहेको हुन्छ । जसलाई धितोपत्र बजार, सेयर बजार भनेर पनि चिन्न सकिन्छ ।

विश्वमा धितोपत्र बजारको शुरुवात सन् १६०२ मा नेदरल्याण्डको राजधानी आम्सर्टरडममा स्टक एक्सचेन्ज स्थापना गरी उक्त एक्सचेन्जमा सर्वप्रथम डच इष्ट इण्डिया कम्पनीको सेयर कारोबार गरेसँगै भएको पाइन्छ भने नेपालमा वि. सं. १९९४ सालमा नेपाल बैंक लि. र विराटनगर जुट मिल्सले सर्वसाधारणलाई सेयरको सार्वजनिक निष्काशन गरी धितोपत्र बजारको माध्यमबाट पुँजी संकलन गर्ने व्यवस्थाको शुरुवातभएको देख्न सकिन्छ । नेपालमा धितोपत्र निष्काशनको शुरुवात वि. स. १९९४ सालमा भएतापनि यसको निरन्तरता र अन्य थप कानुनी एवं संस्थागत विकास र विस्तार हुन देशको समग्र राजनीतिक व्यवस्थामा आएको परिवर्तनसँगै प्रजातान्त्रिक शासन व्यवस्था शुरु भई आर्थिक उदारीकरणको नीति अवलम्वन गरेपछि मात्र भएको देख्न सकिन्छ ।

तर अझै पनि नेपालको पुँजी बजार अन्य विकसित देशको पुँजी बजार र धितोपत्र सम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मान्यता अनुरुप अगाडि बढ्न भने सकेको छैन् । देशमा राजनीतिक व्यवस्थामा आएको परिवर्तनपश्चात् आर्थिक उदारीकरणको नीति लिएसँगै निजी लगानीमा बैंक तथा वित्तीय संस्थाहरु, उद्योगधन्दा र व्यवसायहरु स्थापना तथा संचालन गर्ने व्यवस्था बढ्न गई उक्त संस्थाहरुबाट सर्वसाधारणलाई धितोपत्र निष्काशन गरी पुँजी सकलन गर्ने संख्या र रकममा वृद्धि हुन गयो भने अर्कोतिर धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको संख्यामा समेत बढोतरी हुँदै गएको तथ्यांक देख्न सकिन्छ । हालसम्म पनि नेपालको पुँजी बजार धितोपत्र निष्काशन गर्ने संगठित संस्थाहरुमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको पाइन्छ । पुँजी बजारलाई निष्काशन बजार र कारोबार बजार गरी दुई भागमा विभाजन गरिन्छ । निष्काशन बजार प्राथमिक बजार र कारोबार बजार दोस्रो बजार हो ।

प्राथमिक बजारमा पुँजी आवश्यक भएको पक्षले विभिन्न किसिमका धितोपत्रहरुको निष्काशन गर्दै पुँजी बचत रहेका लगानीकर्ताबाट लगानीयोग्य रकम प्राप्त गर्ने उक्त पुँजीलाई वास्तविक सम्पत्तिमा परिचालन गरी वस्तु तथा सेवा उत्पादन गरिन्छ । यसमा धितोपत्रहरुको पहिलो कारोबार हुन्छ । अर्कोतिर धितोपत्रको दोस्रो बजार भने प्राथमिक बजारमा कारोबार भएको धितोपत्रहरुलाई तरलता प्रदान गर्न, प्राथमिक बजारको माध्यमबाट धितोपत्रमा लगानी गर्न नपाएका लगानीकर्तालाई लगानी गर्ने अवसर प्रदान गर्न र प्राथमिक बजारलाई संस्थागत र आकर्षित गर्न संचालित बजार हो । यस बजारलाई व्यवस्थित रुपमा संचालन गर्न एक्सचेन्जको व्यवस्था गरिएको हुन्छ ।

समग्र रुपमा हेर्दा नेपालको पुँजी बजारमा धितोपत्र निष्काशन गर्ने संगठित संस्था, धितोपत्रहरु, बजारको क्षेत्र र लगानीकर्ताहरुको संलग्नतामा सीमितता, दोस्रो बजार कारोबारको उच्च उतार चढाव, नियमन क्षमता लगायत यससँग सम्बन्धित नीतिगत, संस्थागत संरचनागत एवं पूर्वाधारको विकास र विस्तारमा भएको न्यूनताका कारण यस बजारलाई अनुत्पादक, सट्टेबजार, जुवाघर जस्ता उपमा जोडी विश्लेषण गर्ने गरेको पाइन्छ । यस बजारलाई मुख्य सिद्धान्त बमोजिम अगाडि बढाउन र बजारका विषयमा जोडिएका उपमाहरुबाट मुक्त राख्दै उत्पादनशील बनाउन एकल पक्षको प्रयास र मेहनतले मात्र सम्भव छैन । तसर्थ यसको लागि विभिन्न पक्षको एकल र समन्वयात्मक प्रयास भएको खण्डमा पुँजी बजार उत्पादनशील बनी अर्थतन्त्रमा बहुपक्षीय प्रभाव पार्न सक्छ ।

सरकार
देशको समग्र शासन संचालन गर्ने वैद्यानिक सत्ता, राज्य वा शक्तिको रुपमा रहने सरकारले कार्यकारिणी अधिकारको प्रयोग गरी नीति निर्माण, कानुन, बजेट एवं योजना तर्जुमा र तिनको कार्यान्यवन, राज्य कोषको बाँडफाँड, शान्ति सुरक्षा लगायतका कार्य जिम्मेवारी वहन गर्दछ । तसर्थ सरकारले आफ्ना कार्य जिम्मेवारीहरुलाई प्रभावकारी बनाउँदै आर्थिक स्थायित्व र समृद्धि हासिल गर्ने तर्फ अग्रसर हुनु पर्दछ । आर्थिक स्थायित्व र समृद्धि हासिल गर्न पुँजी बजारको विकास र विस्तार हुन जरुरी रहन्छ । यसको लागि सरकारले उपयुक्त समय सान्दर्भिक नीति निमार्ण, त्यसको प्रभावकारी कार्यान्यवन, नीतिमा स्थायित्व, आवश्यक कानुनी र संस्थागत व्यवस्था गर्दै निजी लगानीलाई आकर्षित गर्ने वातावरण तयार गर्नु पर्दछ ।

पुँजी बजारमा निजी लगानीलाई आकर्षित गर्न लगानी गर्न सक्ने समान अवसर तयार गर्दै लगानीकर्ताको लगानी रकमको सुरक्षा हुने आवास दिलाउन सक्नु पर्दछ । दण्डहीनताको अन्त्य गर्दै कानुनी राज्यको अवस्था कायम गरेको खण्डमा निजी लगानी विस्तार भई पुँजी बजारले पनि स्थायित्व हासिल गर्न सम्भव हुने देखिन्छ । पुँजी बजारले राज्यको आर्थिक–सामाजिक विकासका लागि आवश्यक पर्ने ठूलो पुँजीको व्यवस्था गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्षेत्र भएकोले यस बजारको विकास र विस्तारका लागि स्वच्छ र स्वतन्त्र रुपमा संचालन गर्न हरेक प्रयास गर्नु जरुरी छ । अहिलेको वर्तमान विश्व परिवेशमा सरकार जनताको शान्ति सुरक्षा, आधारभुत आवश्यक पुर्ति लगायतका सामान्य प्रशासनको कार्यमा मात्र सीमित नभई विकास प्रशासन समेतको उत्तरदायित्व बोकेको वास्तविक अवस्था छ ।

राजनीतिज्ञ
जनताको अमूल्य मतबाट देशको शासन संचालन गर्ने जस्तो सर्वाेच्च पदमा आसिन हुने राजनीतिक व्यक्तिले राज्य संचालनको क्रममा आर्थिक वृद्धि र विकासका लागि समेत प्रभावकारी योगदान पुराउनु पर्ने कर्तव्य रहेको छ । राजनीतिक व्यक्ति विद्यायिकी भूमिका रहँदा वा कार्यपालिकामा रहँदा पुँजी बजारको दीगो विकास र विस्तारसँग सम्बन्धित समय सान्दर्भिक कानुनको छिटो छरितो निर्माण, प्रचलित कानुनको पूर्ण कार्यान्वयन गर्न सम्बन्धित निकाय वा व्यक्तिलाई सकारात्मक खवरदारी एवं निर्देशन गर्नु पर्दछ ।

नियमन निकाय
पुँजी बजारको विकास र विस्तार गर्न, यस बजारमा संलग्न आम लगानीकर्ताहरुको संरक्षण गर्दै आकर्षण बढाउन नियमन निकायको प्रमुख भूमिका रहन्छ । यसको लागि पुँजी बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण गर्नु जरुरी हुन्छ । नियामकले प्रभावकारी नियमन तथा सुपरीवेक्षण गर्नका लागि आवश्यक कानुनी एवं संस्थागत व्यवस्था गर्नु पर्दछ । समग्र लगानीकर्ताको हित संरक्षण गर्दै पुँजी बजारप्रति आकर्षित गर्न कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन, करोवारको निरन्तरता, विश्वव्यापी रुपमा विकसित आधुनिक औजारहरुको विकास र विस्तार एवं गलत कार्यहरुको पहिचान गरी कानुनी रुपमा नियन्त्रण गर्नु आवश्यक हुन्छ । साथै नीतिगत स्थिरता पनि आवश्यक पर्दछ ।

धितोपत्र बजार र बजार सहभागी
पुँजी बजारमा धितोपत्रको कारोबार लगायत अन्य सेवाहरु प्रवाह गर्न मध्यस्थकर्ताको रुपमा धितोपत्र बजार र धितोपत्र व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहन्छ । धितोपत्र बजार (स्टक एक्सचेन्ज) र धितोपत्र सहभागी (केन्द्रिय निक्षेप सेवा, धितोपत्र दलाल, मर्चेण्ट बैंकर, निक्षेप सदस्य एवं आश्वा सदस्य इत्यादी) हरुले धितोपत्र निष्काशन, कारोबार, हस्तान्तरणसँगै राफसाफ लगायत अन्य आवश्यक सेवाहरु प्रदान गर्ने गर्दछन् । यी निकायहरुको प्रवाभकारी र चुस्त सेवा प्रवाहले पुँजी बजारको विकास र विस्तार गर्न र यस बजारप्रति लगानी– कर्ताहरुलाई आकर्षित गर्न सहयोग पुग्दछ । तसर्थ पुँजी बजारमा लगानी र लगानीकर्तामा विविधिकरण गर्न धितोपत्र बजार र बजार सहभागीहरुले व्यवसायिक मर्यादालाई ख्याल गर्दै आफ्ना क्रियाकलाप संचालन गर्ने, नीति नियमको पूर्ण परिपालना गर्ने, लगानीकर्ता शिक्षा फैलाउने सामाजिक उत्तरदायित्वको निर्वाह गर्नु पर्दछ ।

संगठित संस्था
धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार संगठित संस्था भन्नाले धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने गरी प्रचलित कानुन बमोजिम स्थापना भएको संगठित संस्थालाई जनाउँछ । संगठित संस्थाले आफ्नो व्यवसायिक आर्थिक क्रियाकलाप सचालन गर्न आवश्यक पर्ने पुँजी आम बचतकर्ताहरुबाट प्राप्त गर्न विभिन्न किसिमका धितोपत्रहरु निष्काशन गर्दछ । धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले आम लगानीकर्तालाई लगानीका लागि आकर्षित गर्न धितोपत्र निष्काशनका वखत आफुलाई आवश्यक पर्ने पुँजी पूर्ण रुपमा प्राप्त गर्न संस्थाको विगत, वर्तमान र भविष्यका बारेमा स्पष्ट देखिने गरी यथार्थ सूचना खुलासा (म्ष्कअयिकगचभ) गर्नु पर्दछ जसबाट लगानीकर्तालाई आफ्नो लगानी निर्णय गर्न सहयोग पुग्दछ ।

अर्कोतिर धितोपत्र निष्काशन गरी पुँजी संकलन गरे पश्चात लगानीकर्ताको लगानी रकमलाई संरक्षण गर्न र उच्च प्रतिफल प्रदान गर्न संकलित पुँजीलाई प्रभावकारी रुपमा परिचालन गर्नु पर्दछ । साथै लगानीकर्ताको विश्वास जित्न पूर्ण रुपमा संस्थागत सुशासन कायम गर्ने, नीति नियमको पूर्ण परिपालना गर्ने, खर्चको पारदर्शिता र खर्च विवरणको पूर्ण अभिलेख कायम गर्ने, मूल्य संवेदनशील सूचनाहरुको समान वितरण गर्ने र सेयरधनीहरुलाई समान व्यवहार गर्ने गर्नु पर्दछ ।

लगानीकर्ता
पुँजी बजारमा लगानी गर्ने लगानीकर्ता यस बजारका मुख्य पक्षहरु हुन । लगानीकर्ताले आफ्नो आम्दानीबाट बचत गरेको लगानीयोग्य रकमलाई धितोपत्रहरुको खरिद गरी उक्त रकम माग पक्षलाई उपलब्ध गराउँछन् । आफ्नो लगानी रकमको सुरक्षा गर्न एवं दीगो प्रतिफल प्राप्त गर्न लगानीकर्ताले पुँजी बजारको विकास र विस्तारका लागि समेत आफ्नो अमूलय भूमिका निर्वाह गर्नु जरुरी रहन्छ । लगानीकर्ताले धितोपत्रमा लगानी गर्दा लगानी गरिने धितोपत्र, कम्पनीहरुको अध्ययन अनुसन्धान र उचित विश्लेषण गरी लगानी निर्णय गर्ने गर्नु पर्दछ । वाह्य हल्ला, सल्लाह (किनकी कोही पनि लगानीकर्ता समाज सेवा गर्ने उद्देश्यले लगानी गरेका हुँदैनन्) का आधारमा उच्च मुनाफा कमाउने उद्देश्य राखी आफनो जोखिम वहन क्षमता भन्दा बढी रकम लगानी गर्ने प्रवृत्ति त्याग्नु पर्दछ ।

लगानीे रकमको सुरक्षा र दीगो प्रतिफल प्राप्त गर्न वित्तीय अध्ययनलाई बढाउँदै लैजाने, लगानीमा विविधिकरण गर्ने, कम्पनीका आधारभूत एवं प्राविधिक विश्लेषण गरी जोखिम वहन गर्न सक्ने क्षमतामा सम्मको रकम लगानी गर्ने, अनावश्यक हल्लाको पछाडि नलाग्ने, समग्र आर्थिक, राजनीतिक एवं सामाजिक वातावरण, नियमनको अवस्था बुझी विवेकशील लगानी निर्णय गर्नु पर्दछ । साथै आफ्नो लगानीबाट प्राप्त प्रतिफललाई अनुत्पादित विलासी आयातित वस्तुमा मात्र खर्च नगरी बचत गर्ने एवं अन्य आम्दानी, रोजगारीमूलक क्षेत्रमा परिचालन गर्ने प्रवृत्ति बनाउनु उपयुक्त हुन्छ । कहिल्यै पनि बजार बढ्दा मातिने र घट्दा आतिने वानी त्याग्नु पर्दछ ।

वौद्धिक वर्ग तथा संचारकर्मी
देशको चौथो अंगको रुपमा रहेको संचार क्षेत्रमा क्रियाशिल संचारकर्मी र अन्य वौद्धिक वर्गले पुँजी बजारको विकास र विस्तार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । यस किसिमका व्यक्तिवहरुले पुँजी बजारसँग सम्बन्धित सूचनाहरुलाई समाचार, लेख एवं पुस्तकहरुको माध्यमबाट आम लगानीकर्ताहरुसम्म समान किसिमले प्राप्त गर्न सक्ने गरी छिटो छरितो रुपमा पुराउन आ–आफ्नो तवरबाट महत्वपू भूमिका खेल्नु पर्दछ । पुँजी बजारसँग सम्बन्धित समाचार, लेखहरु सत्य तथ्यमा आधारित हुनु पर्दछ । व्यक्तिगत स्वार्थमा केन्द्रित रही सूचना, समाचार प्रवाह गर्नु हुदैन । साथै पुँजी बजारमा रहेका लगानीकर्ताका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायमा पुराउन सेतुको काम गर्नु पर्दछ । पुँजी बजारको विकास र विस्तार गर्न होस वा लगानीकर्ताहरुका समस्याहरुको उजगार गर्दा समाधनका वैकल्पिक सुझाव, विश्व परिवेशमा प्रचलित व्यवस्था समेतको यथार्थ चित्रण गर्ने जिम्मेवारी निर्वाह गर्नु उपयुक्त हुन्छ ।

अन्त्यमा
अर्थतन्त्रको ऐनाको रुपमा रहेको पँुजी बजारलाई उत्पादनशील बनाउँन विभिन्न पक्षको एकल र सयुंक्त प्रयास आवश्यक रहेको हुन्छ । पुँजी बजारलाई अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त बमोजिम संचालन गर्न सकेको खण्डमा यस बजारलाई मुख्य सिद्धान्त अनुरुप उत्पादनशील बनाउँदै समग्र अर्थतन्त्रमा बहुपक्षीय प्रभाव पार्न सकिन्छ । किनकी यस बजारले न्यून लागतमा ठूलो मात्रामा पुँजी परिचालन गरी उत्पादन, रोजगारी, आम्दानी, राजस्व, विदेशी लगानी, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन, पूर्वाधारको विकास, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाई मौद्रिकीकरण गर्नमा सकारात्मक सहयोग पुराउँछ । यो बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो । मानव सभ्यताको विकाससँगै मानिसको जीवनयापनलाई सरल र सहज बनाउँन विभिन्न आर्थिक क्रियाकलापहरुको विकास र संचालन भएको पाइन्छ ।

आजको समयमा प्रविधिमा भएको विकास, खुला विश्व अर्थतन्त्र हुँदै विश्व एकीकरणको युगमा निजी क्षेत्रको लगानीमा हुने वित्तीय क्रियाकलापहरुलाई नियन्त्रण गर्न सम्भव होला जस्तो देखिदैन । वर्तमान समयमा विश्वका अधिकांश देशले पुँजी बजारलाई अगालेको स्थिति छ । पुँजी बजारको विकास र विस्तारलाई धितोपत्रको निष्काशन, कारोबारमा भएको वृद्धि र नेप्से सूचकांकको वृद्धिमा जोडेर मात्र हेर्नु वा विश्लेषण गर्नु सान्दर्भिक हुदैन । यसको अलावा निष्काशन, कारोबार र सूचकांकसँगै धितोपत्र निष्काशन गर्ने संगठित संस्था, धितोपत्रका विविध औजारहरु, कारोबार, कारोबार गर्न सकिने क्षेत्र, सहभागी लगानीकर्ताको विविधिकरण, आवश्यक पूर्वाधारको व्यवस्था, नियमन क्षमता, कानुनी संरचनाको प्रभावकारी व्यवस्था गर्दै पुँजी बजारको स्थायित्वमा जोड दिनु आवश्यक हुन जान्छ ।
(श्रेष्ठ नेपाल धितोपत्र बोर्डमा का.मु.निर्देशक हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय