२०८१ माघ २७ आईतवार

सर्वसाधारणमा चेतना जगाई नोटलाई जतन गरेर कारोबार गर्न र नोटलाई लामो समयसम्म टिकाएर राष्ट्रको नोट छपाइ खर्च पनि कम गर्न योगदान पुर्‍याउने उद्देश्यले वित्तीय चेतना अभिवृद्धि अभियानसँगै सफा नोट नीति पनि अघि बढिरहेको छ । हरेक व्यक्तिको साथमा अनिवार्य रूपमा रहने, दैनिक जीवन यापनसँग जोडिएको, व्यक्तिको इज्जत तथा प्रतिष्ठासँग अभिन्न रहेको तथा उसको मनोविज्ञानसँग सोझै सम्बन्ध रहेका कारणले नोटको विषयलाई सर्वसाधारण जनताले चासोका साथ हेर्ने गरेको कुरा अनुभवसिद्ध भइसकेको छ । नेपालको सन्दर्भमा भने भुक्तानी प्रणालीमा सूचना प्रविधिको विकास प्रारम्भिक अवस्थामा रहेको तथा सम्पत्तिको सञ्चय गर्ने साधनका रूपमा नोटलाई लिने गरिएको हुँदा नेपाली नोटसँग जनसाधारणको साइनो नजिकको रहने गरेको छ । यद्यपि नोटको व्यवस्थापन र सोका लागि राज्यका तर्फबाट हुने गरेको प्रयत्न र धनराशी सम्बन्धी जानकारी सर्व– साधारणमा अपेक्षित मात्रामा विस्तार हुन नसकेका कारण सफा नोट नीतिले अपेक्षित परिणाम दिन नसकेको कुरा यथार्थ हो ।
नोट भन्ने बित्तिकै कागजी नोटको कुरा आउँछ । दैनिक कारोबारमा विद्युतीय भुक्तानी साधनले स्थान लिइसकेको भए पनि नेपालमा यो माध्यम स्थापित हुन अझै धेरै समय लाग्ने र नोटकै कारोबार भइरहने देखिन्छ । यसैले नोट छाप्ने, देशमा भित्र्याउने, देशभर पु¥याउने लगायत नोटको व्यवस्थापन गर्ने जिम्मा राज्यले केन्द्रीय बैंकलाई दिने गर्दछ र यसलाई कानुनद्वारा सुनिश्चित गरिएको हुन्छ । सूचना प्रविधिको विकाससँगै भुक्तानी प्रणालीका नयाँ नयाँ तरिका र पद्धतिको विकास भए पनि सोको समेत नियमन र सुपरिवेक्षणको जिम्मा केन्द्रीय बैंकले नै पाएको छ । अहिले सूचना प्रविधिको चरम विकास भएको युग भएकाले भुक्तानीका नयाँनयाँ पद्धतिहरू विकास भइरहेका छन् ।
चेक, ड्राफ्ट, डेबिट कार्ड, क्रेडिट कार्ड, विद्युतीय भुक्तानी प्रणाली आदि पद्धतिहरुबाट कारोबार गरिएमा नोट व्यवस्थापनमा हुने राज्यको खर्च न्यूनीकरण हुने कुरामा कुनै शङ्का छैन । यसले नोटको प्रयोग कम हुन्छ जसबाट नोटको प्रचलन न्यूनीकरण हुन गई नोट व्यवस्थापन सस्तो र सुलभ बन्न जान्छ । यसैले नगदभन्दा बैंक चेक वा पैसा बाहेकका उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नु पनि वित्तीय साक्षरताको अर्को पाटो हुँदै हो । यसका साथै बजारमा कारोबार गर्न नमिल्ने झुत्रा नोटहरूलाई प्रतिस्थापन गर्ने तथा जाली नोटको प्रयोग गर्न नहुने मात्र नभई यस्तो पाइएको खण्डमा सर्वसाधारणले राज्यलाई सूचना दिने संयन्त्रको विकास गर्नुपर्ने बारेमा समेत हरेक नागरिक सुसूचित हुनुपर्दछ ।
नोटको प्रयोग सामान्य कारोबारको विषय मात्र नभई नेपाली संस्कृतिसँग समेत जोडिएको विषय पनि भएकाले यसको मनोवैज्ञानिक प्रभाव ठूलो रहेको छ । राज्यका नोट तथा सिक्काहरूको सुरक्षा गर्नु एउटा सभ्य नागरिकको कर्तव्य हो । नोटलाई जतन गरी हिफाजतपूर्वक प्रयोग गर्नु र नोटलाई सफा राख्न घर परिवार, समाज तथा आफ्ना सेरोफेरोमा सोसम्बन्धी चेतना फैलाउन प्रयास गर्नु पनि असल नागरिकको दायित्व हो । सर्वसाधारण जनतामा गुणस्तरीय र सफा नोट चलनचल्तीमा ल्याउने, च्यातिएको, फोहोर नोटहरू चलनचल्तीबाट हटाउँदै जानु सफा नोट नीतिको प्रमुख उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीति मार्फत सफा नोट नीति ल्याएको हो । यसभित्र छिपेको अर्को मुख्य उद्देश्य भने नोट व्यवस्थापन खर्च न्यूनीकरण गर्नु रहेको छ ।
नेपाल राष्ट्र बैंकले अहिले पुराना झुत्रा नोटलाई सजिलै सटही गरिदिने गरेको छ । यसले गर्दा सर्वसाधारणमा नेपाली नोट त जस्तो भए पनि साटिन्छ भन्ने मानसिकता रहेको छ । यसलाई चिर्न आवश्यक छ । थोत्रा मैला नोट सटहीमा कडाइ गरिदिने हो भने नेपाली नोट जतन गर्नमा अलि सहयोग पुग्ने निश्चित छ । यसै गरी नेपाली नोटमा अनावश्यक लेख्ने, कोर्ने प्रवृत्ति पनि रहेको छ जसलाई निर्मुल गर्ने काम बैंक तथा वित्तीय संस्थाबाटै सुरुआत गर्नु पर्दछ । नेपालको भौगोलिक धरातल, नोट छपाइको पूर्वाधार विकासको अभाव लगायतका कारणले नेपाली नोटको व्यवस्थापन खर्चिलो हुने गरेको छ ।
विदेशमा छापिएको नोट ल्याउने, हवाइ मार्गबाट पहाडी क्षेत्रसम्म पु¥याउने र पुरानो नोट विभिन्न ठाउँहरूबाट नेपाल राष्ट्र बैंकमा फिर्ता ल्याउने कार्यमा राज्यले ठूलो खर्च बेहोर्नु पर्दछ । यसका साथै नेपाली नोटमा रहेको सांस्कृतिक पाटो त छँदैछ । नोटमा नेपाली राष्ट्रिय प्रकृति, संस्कृति, सभ्यता, अङ्कित हुन्छन् । यसर्थ सबैले नोटलाई आफ्नै सम्पत्ति र राष्ट्रको गौरव ठानेर जतनसाथ प्रयोग गरेमा मन प्रफुल्ल रहने, नेपाल र नेपालीको सभ्यता उच्च रहनुका साथै नोट व्यवस्थापन सम्बन्धी राज्यको खर्च घट्न हुन गई सोको अतिरिक्त उपयोग हुन जान्छ भन्ने कुरा बोध गर्नु आवश्यक छ । यसका साथै, नोट जति पुरानो भयो त्यसले त्यति नै बढी हाम्रै स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ भन्ने कुरा जानकारी प्रवाह गर्नु पर्दछ ।
कुनैपनि राष्ट्रको पहिचान दिने काम नोटले गर्दछ । देशको सभ्यताको स्तर प्रस्तुत गर्न र विश्वसामु नेपाली संस्कृति तथा इतिहासबारे जानकारी विस्तार गर्नमा पनि नोटको भूमिका रहन्छ । कुनै विदेशी नागरिक पर्यटक हवाइ वा अन्य माध्यमबाट नेपाल आइपुगेपछि उसले विदेशी मुद्राबाट नेपाली मुद्रा सटही गर्दछ । विदेशी मुद्राको सट्टामा नयाँ नोट सटही गरिदिँदा विदेशीको मन–मस्तिष्कमा नेपालप्रति सकारात्मक प्रभाव पर्दछ र नेपालको इज्जत बढ्दछ भन्ने कुरा पनि सर्वसाधारणमा प्रवाह गर्नु पर्दछ । यसरीे नेपालीको मानसिक स्तरदेखि दैनिक कारोबारको क्रममा तथा नेपाली राष्ट्रिय संस्कृति, सभ्यता, इतिहास र गौरवका साथै अन्तर्राष्ट्रियस्तरसम्म नेपालको प्रचार प्रसारमा नोटको महत्व हुनेहुँदा सफा नोट नीतिबारे चेतना फैलाउनु आवश्यक छ ।
नोटमा केरमेट गर्ने, कच्याककुचुक पार्ने, पोको पारेर राख्ने वा माटोमा गाड्ने, आगोले पोल्ने, च्यात्ने, भिजाउने गर्दा नोटको आयु घट्ने मात्र होइन यसबाट राष्ट्रको अमूल्य सम्पत्तिको दुरुपयोग हुने, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले नोटको जतन र सुरक्षण गर्नुपर्ने कुरा सर्वसाधारणले बुझ्नु पर्दछ । साथै, कुनै पनि भुक्तानीमा गैरनोटको चलन गर्ने बानी बसालेमा यसबाट नोटको प्रयोगबाट हुने जोखिम हट्ने, बैंकिङ कारोबार नियमित हुने, भुक्तानीका लागि औपचारिक माध्यमको प्रयोग हुने, सरकारी राजस्व बढ्ने, उपभोक्ता ठगी अन्त्य हुने सम्भावना बढ्दछ । यसर्थ राज्यलाई दीर्घकालमा सफा नोट नीति कडाइका साथ लागु गर्नु आवश्यक छ । सफा नोटको महत्वका सम्बन्धमा विद्यालय तहबाट नै चेतना प्रवाह गर्नुपर्ने आवश्यकतालाई बोध गरी केही निजी क्षेत्रका पाठ्यसामग्री प्रकाशकले चासो लिन थालेको पनि देखिएको छ । यसलाई राष्ट्र बैंकले महत्वका साथ अघि बढाउनु पर्दछ ।
सफा नोटबारे भ्रम
नोटलाई जतन गर्ने सम्बन्धमा सर्वसाधारण जनता मात्र होइन, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी समेत भ्रममा रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकमा नोट दाखिला गर्न ल्याउने कतिपय बैंक तथा वित्तीय संस्थाले अत्यन्तै सुकिला नोटहरु पनि अनफिट नोट (जलाउन योग्य नोट) मा पारेर ल्याउने गरेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले सुकिलो (फिट) र मैलो (अनफिट) नोट आफैले छुट्याएर ल्याउनु पर्ने नीति लागु गरिएको छ तर फिट र अनफिट छुट्याउने स्पष्ट आधार नहुँदा अलमल भएको अनुभव हुन्छ । यस यथार्थलाई नेपाल राष्ट्र बैंक अझ विशेष गरी मुद्रा व्यवस्थापन विभागले छिट्टै स्पष्ट पार्नु जरुरी छ । अहिलेसम्मको नोट व्यवस्थापनमा नेपालको स्थितिलाई हेर्दा नोट सर्टिङका सम्बन्धमा नरम नीति अपनाउनु उपयुक्त हुन्छ । सर्वसाधारणमा नोटलाई जतन गर्ने बानी भइनसकेको सन्दर्भमा बजारमा पठाउन मिल्ने जति नोट पठाउनु नै उपयुक्त हुन्छ । बजारमा नयाँ नोट पठाउँदैमा बजारमा नयाँ मात्रै नोट प्रचलनमा आउने सम्भावना नभएकोले एक पटक चलाएको नोटलाई बजारमा पठाउनु नै उपयुक्त हुन्छ । रङ लागेको, कोरिएको आदि नोटलाई कतिसम्म प्रचलनमा ल्याउन मिल्छ त्यसका बारेमा मुद्रा व्यवस्थापन विभागले स्पष्ट मापदण्ड बनाउनु पर्दछ ।
नक्कली नोटको सन्दर्भ
नक्कली नोटको समस्या हरेक देशले थोरबहुत भोगिरहेकै हुन्छन् । तर नेपालमा यसको बिगबिगी अझै ज्यादा छ । अन्य देशको तुलनामा नेपाली नोटको गुणस्तर सामान्य भएकाले नक्कली नोट सजिलै तयार भइरहेको देखिन्छ । नेपाली नोटका सुरक्षा चिह्नहरु तथा सक्कली नोट पहिचानबारे चेतना प्रवाह गर्नु पनि उत्तिकै आवश्यक छ । नक्कली नोट तयार गर्ने गिरोह निकै सावधानी साथ अघि बढ्ने भएकाले यसलाई निर्मूल गर्नु चुनौतीपूर्ण कार्य हुँदै आएको छ । यहाँ सक्कली नोट चिन्ने तरिकाका बारेमा सामान्य जानकारी प्रस्तुत गरिएको छ ।

नोट भन्ने बित्तिकै कागजी नोटको कुरा आउँछ । दैनिक कारोबारमा विद्युतीय भुक्तानी साधनले स्थान लिइसकेको भए पनि नेपालमा यो माध्यम स्थापित हुन अझै धेरै समय लाग्ने र नोटकै कारोबार भइरहने देखिन्छ । यसैले नोट छाप्ने, देशमा भित्र्याउने, देशभर पु¥याउने लगायत नोटको व्यवस्थापन गर्ने जिम्मा राज्यले केन्द्रीय बैंकलाई दिने गर्दछ र यसलाई कानुनद्वारा सुनिश्चित गरिएको हुन्छ । सूचना प्रविधिको विकाससँगै भुक्तानी प्रणालीका नयाँ नयाँ तरिका र पद्धतिको विकास भए पनि सोको समेत नियमन र सुपरिवेक्षणको जिम्मा केन्द्रीय बैंकले नै पाएको छ ।

सक्कली नोट चिन्ने तरिका
पानी छाप : नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्‍यौं भने लाली गुराँसको पानी छाप स्पष्ट रूपमा देख्न सकिन्छ । नक्कली नोटमा त्यस्तो पानी छाप अस्पष्ट र अलि कालो धब्बा जस्तो देखिन्छ ।
सुरक्षा धागो : नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सकिंदैन । फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोपिएको जस्तो देखिन्छ । सुरक्षा धागोलाई नियालेर हेर्ने हो भने उक्त धागोमा NRB NRB लेखिएको हुन्छ ।
छोएर हेर्ने : नेपाली नोटको बुट्टालाई हातले विस्तारै छोएर हेर्ने हो भने त्यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिने खालको हुन्छ । नोट पुरानो हुँदै जाँदा भने त्यस्तो विशेषता कम हुँदै जाने हुन्छ ।
आवाज : नेपाली नोट शत्प्रतिशत कपासबाट बनेको कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ । नोट पुरानो हुँदा यो विशेषतामा ¥हास आउने गर्दछ ।
अग्रपृष्ठ संयोजन : रुपैयाँ १००, ५०० र १००० दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि (बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर ल्च्द्य भन्ने शब्द बन्छ । नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ । उपर्युक्त विशेषताहरू बाहेक अन्य केही विशेषताहरू पनि नोटमा रहेका हुन्छन् जसलाई हेर्न केही उपकरणहरूको आवश्यकता पर्दछ । जस्तै : यू.भी. लाइट, म्याग्निफाइङ ग्लास आदि (स्रोत : वसन्त शाक्य, राष्ट्र बैंक समाचार) ।
वित्तीय साक्षरता क्लबको आवश्यकता
वित्तीय सेवाको माग पक्षको प्रवद्र्धन गरी मुलुकमा उद्यमशीलताको विकास मार्फत उत्पादन, रोजगार र आय अभिवृद्धि गर्नु अहिलेको आवश्यकता भएको कुरा दोहोर्‍याउनु पर्दैन । सबै जनतालाई समावेशी आर्थिक विकासको मार्गमा समेट्नका लागि यो अपरिहार्य छ । यसका लागि वित्तीय सचेतना कार्यक्रम मार्फत् सर्वसाधारणमा बैंकिङ बानीको विकास मार्फत वित्तीय पहुँच अभिवृद्धि, उद्यमशीलताको विकास, स्वरोजगार सिर्जना गरी सबैलाई विकासमा समावेश गराउनु आवश्यक छ । यसै कारण राज्यका तर्फबाट नै वित्तीय सचेतना कार्यक्रमले योजनामा स्थान पाएर प्राथमिकताका साथ अघि बढेको छ । यद्यपि वित्तीय सचेतना कार्यक्रम नेपाल राष्ट्र बैंक एक्लैको प्रयासले मात्र सम्भव छैन । सबै बैंक तथा वित्तीय संस्थालाई समेट्ने अभिप्रायले नेपाल राष्ट्र बैंकले आफ्ना गतिविधिसँग वित्तीय साक्षरतालाई जोडेर अघि बढाउनका लागि निर्देशन समेत जारी गरिसकेको छ ।
यस पुनित कार्यमा मुलुकभरका बैंक तथा वित्तीय संस्था, सञ्चार क्षेत्र तथा सरोकारवाला संघसंस्थाले संयुक्त प्रयास गर्नुपर्छ । वित्तीय पहुँच अभिवृद्धि अहिले राज्यको प्राथमिक दायित्व हो र यो कार्य निकै पेचिलो समेत रहेको छ । यसलाई सर्वसाधारण जनतासमक्ष पुर्‍याउन निकै ठूलो प्रयास गर्नु आवश्यक छ । केन्द्रीय बैंक दुई चार ठाउँमा गएर कार्यक्रम गर्दैमा यसले अपेक्षित प्रगति हासिल हुन सक्तैन । यस कार्यलाई द्रूत, गतिशील र परिणाममुखी बनाउन बैंक तथा वित्तीय संस्था र तिनका शाखा सञ्जाललाई उपयोग गर्नु पर्दछ । यसका साथै सहकारी संस्थालाई समेत समेटेर सहभागी गराउने हो भने मुलुकमा वित्तीय चेतना विस्तार हुन सहयोग पुग्नेछ ।
मुलुकमा वित्तीय चेतनाको यस आवश्यकतालाई मूर्तरूप दिन जिल्ला जिल्लामा वित्तीय सचेतना क्लब बनाएर एकीकृत रुपमा अघि बढ्नु आवश्यक छ । हरेक देशमा वित्तीय चेतना विस्तारको अगुवाइ केन्द्रीय बैंकले गर्ने भएकाले यस कार्यलाई अघि बढाउन बैंकले नै पहल गर्नु पर्दछ । जसरी वित्तीय क्षेत्र स्थायित्व समितिलाई अहिले सक्रिय गराइएको छ त्यसै गरी सम्बन्धित क्षेत्रका बैंक तथा वित्तीय संस्थाका शाखालाई समेटेर वित्तीय पहुँच तथा वित्तीय समावेशन क्लब गठन गरेर सर्वसाधारणमा चेतना विस्तार गर्ने अभियान सञ्चालन गरेमा यसले सकारात्मक परिणाम दिने आशा गर्न सकिन्छ । अहिले कतिपय बैंकहरुले एक्लाएक्लै यो सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन् । वित्तीय समावेशीकरण र वित्तीय पहुँच अभिवृद्धिबाट बैंक तथा वित्तीय संस्थाको व्यावसायिक विस्तार हुने भएकाले यो विज्ञापनको एक माध्यम समेत हो । यस कार्यलाई एकीकृत रुपमा समेट्न उल्लिखित क्षेत्रलाई संलग्न गराएर क्लब गठन गरी अघि बढेमा देशको अत्यावश्यक यस कार्यले गति लिनेछ ।
सफा नोट नीति बजारमा सफा नोट प्रचलनमा ल्याउने मात्र नभई नोटलाई जतन गरी सफा राख्नका लागि सर्वसाधारणलाई उत्प्रेरित गर्ने नीति बन्नु पर्दछ । यस कार्यमा केन्द्रीय बैंकले नीति बनाउने मात्र नभई बैंक तथा वित्तीय संस्थामार्फत प्रभावकारी कार्यान्वयन समेत गर्नु पर्दछ । खास गरी सर्वसाधारणबाट मैलो झुत्रो नोट सटहीमा कडाइ, बैंकले दाखिला गर्न ल्याउने नोटमा सर्टिङ सम्बन्धमा स्पष्ट मापदण्ड तयारी, बैंक तथा वित्तीय संस्था (केन्द्रीय बैंक समेत) ले नोटमा थान लेख्ने प्रवृत्तिको अन्त्य आदि नोटको जतन र सफा नोट सम्बन्धमा प्रारम्भिक कदम हुन सक्छन् । बैंक तथा वित्तीय संस्था (केन्द्रीय बैंक समेत) ले नोटमा थान लेख्ने प्रवृत्तिको अन्त्य गर्न सानो कागजमा चिट लेखेर राख्ने प्रणालीको विकास गर्नु पर्दछ । यद्यपि सफा नोट सम्बन्धमा सर्वसाधारणमा नोटलाई जतन गरेर चलाउने बानीको विकास गराउनु नै बढी प्रभावकारी ठहर्छ ।
(आचार्य नेपाल राष्ट्र बैंकसँग आवद्ध छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय