२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत रहेका विभिन्न सहकारीहरुले बचतकर्ताहरुको रकम हिनामिना गरेको पाइएको छ । यस महानगरभित्रका सहकारी नियमन गर्ने निकाय सहकारी विभागमा ३४ वटा सहकारी संस्थाले बचतकर्ताहरुको पैसा हिनामिना गरेको उजुरी परेको हो । विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेलले गत आर्थिक वर्षमा काठमाडौं महानगरभित्रका ३४ वटा सहकारी संस्था विरुद्ध बचतकर्ताको पैसा हिनामिनाको उजुरी परेको जानकारी दिए ।

उनले अगाडी भने, ‘यो संख्या गत आर्थिक वर्षमा बचतकर्ता ठगीए भन्दै परेको उजुरी हो । यी ३४ वटा सहकारी सञ्चालक र बचतकर्तालाई राखेर पैसा फिर्ता गर्ने सर्तमा मिलापत्र गरी पठाएका छौं । यससँगै हामीले संस्थालाई बचत रकम फिर्ता गर्न पत्र समेत लेखेर पठाएका छौं ।’

साथै उनले सहकारीको नियमन गर्न सरकारले चासो नदेखाउँदा सहकारी संस्थाहरुमा विकृति बढ्दो रहेको समेत बताए । निर्देशक पोखरेलले भने, ‘सहकारी संस्थाहरुमा विकृति बढ्दो छ ।

नियमन गर्ने निकाय समेत कम छन् । नियमन गर्ने निकाय बढाउनमा सरकारले चासो देखाएन । त्यति मात्रै होइन नियमन गर्ने निकायलाई सहकारीको नियमन गर्न पर्याप्त अधिकार र कर्मचारी समेत दिएको छैन ।’

त्यस्तै, गत आर्थिक वर्षको अवधिमा नै काठमाडौं महानगरभित्र रहेका ४२ वटा सहकारी विरुद्ध प्रहरीमा उजुरी समेत परेको छ । यस बाहेक यही महानगरमा रहेका ३४ वटा सहकारी संस्थालाई बचतकर्ताको रमक फिर्ता गराउने शर्तमा मिलापत्र गराएर पठाइएको विभागको भनाई छ ।

विभागका अनुसार मिलापत्र गरेर पठाइएको सहकारीहरुमा मनी बचत तथा ऋण सहकारी, प्रभात, नमस्ते गोसाइकुण्ड, बज्रयाम, आरोग्य, शितल, प्रोत्साहन बहुउद्देश्यीय, स्मार्ट ट्रष्ट बचत तथा ऋण, उद्गम, द नेक्स्ट, जुझारु, आधारभुत बहुउद्देश्यीय, लक्ष्मीवास बचत तथा ऋण, कान्ती, किरणोदय बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

त्यस्तै, निर्विघ्न बचत तथा ऋण सहकारी, संघर्ष, स्वर्णपथ बहुउद्देश्यीय सहकारी, सास्वत बचत तथा ऋण सहकारी, सरचना, अस्मोसिस, पश्चिमोदय, द्धारिका, बौद्ध, जिलेट, सुख समृद्धि, जय हनुमान, जाम्बाला, ह्वाइटहेवन, माँ अम्बे, मधुकुण्ड, युरेका, अभिमत बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

मिलापत्र गरेर पठाएका मध्ये मनी बचत तथा ऋण सहकारी संस्था, कृषि, मोबाइल र द्धारिका बचत तथा ऋण सहकारी संस्थाको हिसाब मिलान भइसकेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर