काठमाडौं । नेपालमा रासायनिक मल कारखाना खोल्न ७८ अर्ब रुपैयाँभन्दा बढी लगानी चाहिने अध्ययनले देखाएको छ । काठमाडौं विश्वविद्यालय ग्रीन हाइड्रोजन ल्याबको अगुवाइमा ऊर्जा मन्त्रालयले गठन गरेको अध्ययन समितिले नेपालमा रासायनिक मल कारखाना खोल्न ६१ करोड ५० लाख अमेरिकी डलर लागत लाग्ने देखाएको छ ।
लामो समयदेखि यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएको विश्वविद्यालय सम्मिलित एक समितिले अहिले वार्षिक २ लाख टनसम्मको मल कारखाना स्थापना गर्न सरकारलाई सिफारिस समेत गरेको छ ।
विश्वविद्यालयकै पहल र अग्रसरतामा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गठन गरेको अध्ययन समितिले सोमवार मन्त्री पम्फा भुसाललाई प्रतिवेदन पनि बुझाइसकेको छ ।
मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौतको संयोजकत्वमा गठित समितिले उक्त क्षमताको कारखाना स्थापना गर्न ६१ करोड ५० लाख अमेरिकी डलर (७८ अर्ब रुपैयाँ) लगानी आवश्यक पर्ने उल्लेख गरेको छ । काठमाडौं विश्वविद्यालय ग्रिन हाइड्रोजनका टिम लिडर डा. विराजसिंह थापा, डा. विष्णुप्रसाद गौतम, जल तथा ऊर्जा आयोग सचिवालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) किरण गौतम तथा मन्त्रालयका सिडिई बाबुराज अधिकारी सम्मिलित समितिको प्रतिवेदनमा युरिया उत्पादन गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाँचो रहेको उल्लेख गरेको छ ।
मन्त्रालयस्तरीय निर्णयअनुसार गत असार २१ गते गठित समितिले ग्रिन हाइड्रोजनको उत्पादन तथा रासायनिक मल उत्पादनमा यसको उपयोग गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास, विकास भइरहेका प्रविधिहरूको अध्ययन गरी सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था तथा सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
नेपालमै उत्पादित हाइड्रोजनबाट मल कारखाना स्थापना गर्न, विद्युत भण्डारण र खपत बढाउने प्रविधिका रूपमा समेत ग्रीन हाइड्रोजन प्रयोग हुने विषयमा लामो समयदेखि छलफल तथा बहस हुँदै आएको छ ।