
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरालाई साउन २ गतेदेखि लागू हुनेगरी चार वर्षको पदावधिसहित नियुक्ति गरेपश्चात् एक कार्यक्रमको आयोजना गरी बैंकले उनलाई स्वागत गरेको छ ।
उक्त पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनीत अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत, पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरूलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बोहराले यस बैंकको पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गर्दै बैंकलाई एक उत्कृष्ट बैंकको रूपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको कार्यकालमा बैंकको चुक्ता पुँजी दुई अर्ब १० करोडबाट वृद्धि भएर तीन अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप २२ अर्ब ९६ करोड रुपैयाँबाट बढेर ४५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने बैंकको कर्जा लगानी २२ अर्ब ७५ करोड रुपैयाँबाट बढेर ४१ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
उनको कार्यकालको चार वर्षमा बैंकका सेयरधनीहरूलाई कुल ६० दशमलव ७५ प्रतिशत लाभांश वितरण गरिएको छ । बैंकको निष्क्रिय कर्जा तीन दशमलव ३४ प्रतिशतबाट घटेर एक दशमलव ६८ प्रतिशत कायम भएको छ भने शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको छ ।
बोहराले भारतको अग्रणी इलाहबाद विश्वविद्यालयबाट बिएस्सी र एमबीएसम्मको योग्यता उत्कृष्ट अंकका साथ पूरा गरेका थिए भने विगत २५ वर्षदेखि नेपालको विभिन्न बैंक तथा वित्तीय संस्थामा रही सफलताका साथ कार्य गर्दै आएका छन् ।
व्यवस्थापन प्रशिक्षार्थीको रूपमा सन् १९९७ मा तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरी माछापुच्छ्रे बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिका समेत निभाएका थिए ।
उनले तत्कालीन युनाइटेड फाइनान्समा महाप्रबन्धकको रूपमा र तत्कालीन नारायणी नेसनल फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालीन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा पनि कुशलतापूर्वक भूमिका निर्वाह गरेका थिए ।