काठमाडौं । सरकारले विभिन्न १० वस्तु बाहिरबाट ल्याउन नपाइनेगरी आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । यसअघि ६०० अमेरिकी डलरभन्दा महँगा फोन आयातमा रोक लगाइएकामा त्यसलाई खुकुलो बनाउँदै ३०० अमेरिकी डलरभन्दा माथिका मोवाइल फोन आयातमा रोक लगाइएको छ ।
यसैगरी यसअघि २५० सिसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएकामा त्यसलाई कडाइ गर्दै १५० सिसीमाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिएकोे हो ।
यसअघि देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ ।