काठमाडाैं । असारको तीन सातामा वाणिज्य बैंकहरूमा एक खर्ब रूपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा निक्षेप ४३ खर्ब ९४ अर्बबाट बढेर ४४ खर्ब ९४ अर्ब रूपैयाँ पुगेको हो । बैंकहरूमा जेठ लागेदेखि नै बढेको निक्षेप उक्त महिनाको मसान्तमा ४४ खर्ब रूपैयाँ कुल निक्षेप थियो ।
असारको पहिलो साता यस्तो निक्षेपमा ६ अर्बले निक्षेप घटेको भए पनि पुनः ९४ अर्ब रूपैयाँले बढेको देखिएको छ । यो अवधिमा बैंकहरूको कर्जा प्रवाह भने ठप्प छ । बैंकहरूले जेठ लागेदेखि नै कर्जा प्रवाह रोकेर वासलात (ब्यालेन्ससिट) मिलाउन लागेका छन् ।
बैंकहरूले यस अवधिमा नयाँ कर्जा रोकेको र पुरानो पनि उठाइरहेका कारण असारमा मात्रै १९ अर्ब रूपैयाँ ऋण उठेको छ । तथ्यांकअनुसार वाणिज्य बैंकहरूले जेठ मसान्तसम्ममा ४१ खर्ब ९३ अर्ब रूपैयाँ कर्जा लगानी गरेका थिए । यस्तो लगानीको तथ्यांक असार २४ सम्ममा घटेर ४१ खर्ब ७४ अर्ब रूपैयाँमा आइपुगेको छ ।