काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले घरजग्गा धितोको ऋणको चक्र बिग्रिएर अर्थतन्त्रमा जोखिम निम्तिन लागेको जनाएको छ। आगामी मौद्रिक नीतिका सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिंदै सीबीफीनले अर्थतन्त्रमा ‘एसेट ट्र्याप’ निम्तिने अधिक सम्भावना रहेको उल्लेख गरेको हो।
बैंक तथा वित्तीय संस्थाका प्रमुख लगानीकर्ताहरूको संस्था सीबीफीनले सुझावमा भनेको छ, “बैंक तथा वित्तीय संस्थाहरूको प्रायःजसो कर्जा लगानी गर्दा घरजग्गाको धितोमा प्रवाह गर्ने अभ्यास रहेको र राष्ट्रिय अर्थतन्त्रको परिसूचकहरू सकारात्मक नभइरहेको अवस्थामा कर्जा लगानीमा पर्ने नकारात्मक असरले एसेट ट्र्यापको अवस्था सिर्जना हुने सम्भावना अधिक छ।”
बैंक तथा वित्तीय संस्थाले आफ्नो ऋणको झण्डै दुई तिहाइ रकम घरजग्गा धितो राखेर दिएका छन्। घरजग्गा बजार चलायमान नहुँदा ब्यांक तथा वित्तीय संस्थाको ऋण असुली प्रभावित हुन्छ। खराब कर्जा असुल गर्न धितो बिक्री गर्नुपर्ने भए पनि घरजग्गा धितो बिक्री भएन भने ब्यांक तथा वित्तीय संस्था पनि धराशायी बन्ने जोखिम हुन्छ।
सीबीफीनले यो अवस्था आउन रोक्न मौद्रिक नीति मार्फत धितोको व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नुपर्ने सुझाव दिएको छ। यसअघि दिइएको पुनर्कर्जालाई निरन्तरता दिन पनि सुझाइएको छ।
सीबीफीनले अनावश्यक र विलासिताका वस्तुहरूको आयातमा गरिएको कडाइलाई थप निरन्तरता दिनुपर्ने धारणा राखेको छ। अति आवश्यक कृषिजन्य कच्चा पदार्थ बाहेक अन्य कृषिजन्य वस्तु तथा सामग्रीको आयातमा रोक लगाउनुपर्ने राय छ।
आगामी मौद्रिक नीतिलाई सुझाव दिंदै सीबीफीनले कर्जा निक्षेप अनुपात ९५ प्रतिशत पुर्याउनुपर्ने पनि बताएको छ। अहिले यो अनुपात ९० प्रतिशत छ।
सीबीफीनले स्थानीय निकायको रकमलाई शतप्रतिशत निक्षेप गणना गर्न दिइनुपर्ने, ब्यांक तथा वित्तीय संस्थाहरूले आर्जन गरेको मुनाफाको वितरणको निर्क्योल गर्ने अधिकारमा केन्द्रीय ब्यांकले हस्तक्षेप गर्न नहुने, रेमिटेन्सको रकमलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न योजना अघि सार्नुपर्ने लगायत सुझाव पनि दिएको छ।
त्यसै गरी, अनुत्पादक वा कम उत्पादक क्षेत्रमा प्रवाह हुने ऋणभन्दा उत्पादनजन्य उद्योगहरूमा प्रवाह हुने ऋणको ब्याजदरमा चार प्रतिशत कम गरी उपलब्ध गराउने व्यवस्था गर्न पनि सुझाव दिइएको छ। महिलाहरूले आफ्नो नाममा २५ लाख रुपैयाँसम्म ब्यांक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्दा उक्त रकमको स्रोत नचाहिने व्यवस्था गर्न पनि सीबीफीनले माग गरेको छ।