
काठमाडौं । जाईमेन किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुभारम्भ गरेको छ । सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरुको रुपमा प्रयोग हुने बस उत्पादन तर्फ चीनकै सर्बाधिक ठूलो उत्पादकको रुपमा परिचित रहेको छ ।
नेपालका लागि एक मात्र आधिकारीक विक्रेताको रुपमा विद्युतीय सवारी साधनको विकास, विस्तार र शोध तथा अनुसन्धानमा दुई दशक यता अनवरत रुपमा सक्रिय रहँदै आएको श्री ईको भिजनरीले किङ्ग लङ्गको विद्युतीय माईक्रो बस किङ्गविन एक्सएमक्यु ६५२० ईभी नेपाली बजारमा भित्र्याएको हो ।
१४ सिट क्षमताको यो माईक्रोबस हेर्दा जति आकर्षक छ, डिजाईन र फङ्गसनालिटीका दृष्टिकोणले उत्तिकै बेजोड रहेको छ । अर्वन ट्रान्सपोर्टेसन तथा इन्टर सिटी ट्रान्सपोर्टेसनका लागि किङ्गविन नेपाली आवश्यकतामा निक्कै उपयोगी हुने देखिन्छ ।
१ सय किलोमिटर प्रतिधण्टाको उच्चतम रफ्तार लिन सक्ने यो माईक्रो बसमा ५० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने यसमा जडान गरिएको ८० किलोवाटको मोटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्छ । एक पटकको फुल चार्जमा २५० किलोमिटर चलाउन सकिने यो माईक्रो बस फाष्ट चार्जिङ्गका माध्यमबाट एक घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।